एकैदिन ३० जना कोरोना सङ्क्रमितको मृत्यु



फिदिम । नेपालमा पछिल्लो २४ घण्टामा थप ३० जना कोराना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोराना सङ्क्रमणबाट ज्यान गुमाउनेहरुको संख्या एक हजार ३४ जना पुगेको छ।

नेपालमा कोराना सङ्क्रमणबाट आईतबार २३, सोमबार २४ तथा मङ्गलबार २० जनाले ज्यान गुमाएका थिए। त्यस्तै, पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानका थप तीन हजार ३०९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै कुल सङ्क्रमितको संख्या एक लाख ८२ हजार ९२३ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

आजै तीन हजार ८४४ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख गरिएको छ। हाल सम्म नेपालमा एक लाख ४४ हजार ९७८ जना सङ्क्रमितहरु निको भएका छन् भने ३६ हजार ९११ जना सक्रिय सङ्क्रमित रहेका छन्।

नेपालमा कोरोनामुक्त जिल्लाहरुमा बाजुरा र मनाङ रहेका छन्। काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी ९पुर्व०, दाङ, रुपन्देही, झापा, सुनसरी र मोरङ जिल्लामा ५ सय भन्दा बढी सङ्क्रमित रहेका छन्।

प्रतिक्रिया दिनुहोस्