कोरोना संक्रमणबाट विराट अस्पतालमा कार्यरत नर्सको मृत्यु



फिदिम । कोरोना भाइरसको संक्रमणबाट एक नर्सको मृत्यु भएको छ ।

अस्पतालमा कार्यरत नर्सको कोरोना संक्रमणबाट मृत्यु भएको यो पहिलो केस भएको नेपाल नर्सिङ संघले जनाएको छ । यसअघि अवकाशप्राप्त चार जना नर्सको मृत्यु भएको थियो ।

झापा दमक नगरपालिका–८, स्थायी ठेगाना भएर विराट मेडिकल कलेज विराटनगरमा कार्यरत ६५ वर्षीया नर्स लमु तामाङको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

तामाङले यसअघि दमकको आम्दा अस्पतालमा पनि काम गरेकी थिइन् । केहीदिनदेखि कोरोना संक्रमण भएर गम्भीर अवस्थामा उपचार भइरहेको र आइतबार राति उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

संघका अनुसार यसअघि नर्सहरु ७० वर्षीया विद्या जोशी, ६५ वर्षीया लक्ष्मी चित्रकार, ६४ वर्षीया चन्द्रकला परियार र ७० वर्षीया सूवर्णलक्ष्मी ताम्राकारको कोरोना संक्रमणबाट ज्यान गएको थियो । यी चार जना सेवानिवृत नर्स हुन् ।

देशभरका विभिन्न अस्पतालमा कार्यरत ५ सय भन्दा धेरै नर्स कोरोना संक्रमित भएको संघका प्रवक्ता कल्पना श्रेष्ठले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्