होम आइसोलेसनका लागि उपयुक्त छैनन् संरचना



पाँचथर, १७ कात्तिक

पाँचथरमा कोरोनाभाइरसका सक्रिय सङ्क्रमितहरुको संख्या १४ पुग्दा अधिकांश ‘होम आइसोलेसन’मा छन् । सदरमुकाम फिदिममा २० बेडको आइसोलेसन रहेपनि पाँच जनालाई मात्रै आइसोलेसनमा राखिएको छ ।

सङ्क्रमितको संख्या ह्वात्तै बढ्न सक्ने र यस्तो बेला आइसोलेसन बेडको अभाव हुने तथा लक्षण नदेखिएका सङ्क्रमितहरुलाई होम आइसोलेसनमै राखिए पनि फरक नपर्ने अन्य जिल्लाको उदाहरणलाई यहाँ पनि प्रयोग गरिएको छ ।

तर सक्रिय सङ्क्रमितहरु रहेका होम आइसोलेसनमा चिकित्सकीय सुझावअनुसारका संरचना छैनन् । होम आइसोलेसनका लागि आवश्यक पर्ने न्यूनतम संरचनाको अभावले सङ्क्रमण फैलन खतरा बढ्दै गएको छ ।

कोरोना सङ्क्रमित होम आइसोलेसन रहँदा खाने, बस्ने, सरसफाई गर्ने सहित दैनिक क्रियाकलाप एक्लै भएमात्रै सङ्क्रमण अन्य ब्यक्तिमा सर्ने सम्भावना कम रहने चिकित्सकहरुको सुझाव छ । तर यहाँका अधिकांश घरहरु परम्परागत तथा कच्ची छन् । पक्की घरहरुमा समेत एक तलामा एक वा दुईदेखि तीन तलामा एक शौचालय तथा स्नानघर छन् । यस्ता घरमा सङ्क्रमित सहित अन्य ब्यक्तिहरु समेत रहनुपर्ने बाध्यताका कारण सङ्क्रमण ब्यापक हुनसक्ने आशङ्का स्थानीयवासीको छ ।

शहरको रुपमा विकास हुँदै गरेको फिदिम सहित जिल्लाका अन्य बजारहरु शौचालय तथा स्नानघर घर बाहिर समेत छन् । यस्ता स्थानमा बाध्यतावश सङ्क्रमितको अन्य ब्यक्तिहरुसँग सम्पर्क हुने सम्भावना रहने स्थानीयवासीहरुको भनाई छ । सङ्क्रमित तथा कन्ट्र्याक टे«सिङमा परेकाहरुबाट प¥याप्त सतर्कता अपनाउने गरेको पाइन्न ।

स्वास्थ्य कार्यालयका प्रमुख नारद सुवेदी होम आइसोलेसनका लागि उपयुक्त संरचना नभएपनि समुदाय स्वयम् सचेत हुन सके सङ्क्रमणको ब्यापक फैलावट रोक्न सकिने वताउनुहुन्छ । “छुट्टै संरचना नभए सङ्क्रमितले प्रयोग गरेका सामग्री र स्थानलाई सेनिटाइज गरेर अरुले प्रयोग गर्न सकिन्छ”, सुवेदीले भन्नुभयो, “यसका लागि सधैँ सजगता, सतर्कता र तत्परता आवश्यक छ ।”

समुदायलाई सचेत तुल्याउने कुरा कुनै एक निकायको जिम्मेवारी मात्रै नरहेको सुवेदीले टिप्पणी छ । “प¥याप्त सचेतना र सजगताका लागि समुदायबाटै ठोस् पहल र पालना हुनु आवश्यक छ”, सुवेदीले भन्नुभयो ।

समुदायमा सङ्क्रमण देखिएपनि सतर्कता र सजगता कमजोर रहेको स्वास्थ्य कार्यालयको ठम्याई छ । “दैनिक भीड हुने सदरमुकाम सहितका बजारमा मास्क र सेनिटाइजरको प्रयोगको अवस्था नै कमजोर छ”, स्वास्थ्य कार्यालयका प्रमुख सुवेदीको प्रश्न छ, “मास्क नलगाउने मानिसहरुलाई होम आइसोलेसनको मापदण्ड पालना गर्ने प्रयत्न गर्नुस् भनेर कसरी सम्झाउने ?”

यहाँका सङ्क्रमितहरुलाई सघन उपचार कक्ष वा भेन्टिलेटर राख्नुपर्ने अवस्था आएमा ज्यानै जानसक्ने खतरा रहेकाले स्थानीय तहहरु तथा सरोकारवाला निकायहरुले उच्च सतर्कता अपनाउन अपील गर्दै आएका हुन् । तर सरकारी निकायहरुको तत्परतालाई समुदाय स्तरबाट सहयोग हुन नसक्दा सङ्क्रमण फैलन मद्दत पुगिरहेको छ ।

पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपाल उपयुक्त संरचनाविहीन होम आइसोलेसनमा बस्नुपर्ने सङ्क्रमितहरु बाध्यता रहेको वताउनुहुन्छ । स्थानीय तहद्वारा स्थापित आइसोलेसन तथा अस्पतालको सेवाबाट समेत आम मानिस असन्तुष्ट रहेको नेपालको ठम्याई छ ।

“कोभिड अस्पतालहरुमा बेड पाउन भनसुन गर्नुपर्ने अवस्था छ”, अध्यक्ष नेपालले भन्नुभयो, “गैरसरकारी क्षेत्रले आवाज उठाउने भन्दा यो परिस्थितिमा अन्य काम गर्न सक्ने अवस्था छैन् ।” कोभिड–१९ लाई समुदायस्तरमा समेत नजरअन्दाज र वेवास्ता गर्न नहुने भन्दै नेपालले सबैलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्