प्रदेश १ मा २५९ संक्रमित थपिए, ४४९ जना निको



फिदिम । मोरङ जिल्लाका विभिन्न अस्पताल र होम आइशोलेसनमा गरी आज थप चार जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा दुई जना, न्यूरो कोभिड अस्पताल विराटनगरमा एक जना र एक जनाको मोरङको उर्लाबारीस्थित होम आइसोलेसनमा मृत्यु भएको हो ।

विराटनगर–६ वस्ने ८३ वर्षीय र मोरङको उर्लाबारी नगरपालिका–६ का ५४ वर्षीय पुरुषको सङ्क्रमणबाट आज मृत्यु भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । मृतकमध्ये ८३ वर्षीय पुरुष यही १४ कात्तिक सङ्कमित भइ आएको र ५४ वर्षीष पुरुषको सोही दिन पोजिटिभ देखिएको थियो । मृतकमध्ये उर्लाबारीकालाई निमोनिया भएको र विराटनगरकालाई पुरानो मिर्गौला रोग तथा रगतमा सङ्क्रमण देखिएको थियो ।

यसैगरी सङ्क्रमणका कारण विराटनगर–१२ का ५३ वर्षीय पुरुषको न्यूरो अस्पतालमा आज मृत्यु भएको छ । मृतकलाई यही ६ कात्तिकमा पोजिटिभ देखिएकोमा १५ कात्तिकमा अस्पतालमा उपचारका लागि भर्ना गरिएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिए । होम आइसोलेसनमा रहेका मृतकको स्वास्थ्यमा समस्या थपिएपछि उपचारका लागि न्यूरोमा भर्ना गरिएको थियो ।

त्यस्तै मोरङको उर्लाबारी नगरपालिका–७ का ५८ वर्षीय सङ्क्रमित पुरुषको होम आइसोलेसनमा आज मृत्यु भएको छ । मृतकलाई यही ६ कात्तिकमा रिपोर्ट पोजिटिभ आएपछि होम आइसोलेसनमै रहेको अवस्थामा आज मृत्यु भएको वडा अध्यक्ष वीरवल थापाले बताए । मृतक पुरानो मिर्गौला रोगी थिए ।

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा २५९ जना कोरोना सङ्क्रमित थपिएका छन् भने सो अवधिमा विभिन्न स्थानबाट ४४९ जना निको भएर घर फर्किएका छन् ।

सङ्क्रमित मध्ये ९९ महिला र १६० पुरुष छन् । आज थपिएका सङ्क्रमितमा सुनसरीमा ९२, मोरङमा ८० मध्ये विराटनगरमा ३७, झापामा ६१, उदयपुर, तेह्रथुम, संखुवासभा, इलाम र ओखलढुङ्गामा दुईदुई, धनकुटा, भोजपुर र ताप्लेजुङ एकरएक र प्रदेश बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या १९ हजार ७९१ पुगेको छ भने छ भने अहिलेसम्ममा ११ हजार ५४७ जना पूर्णरूपमा स्वस्थ भएर घर फर्किएका छन् । प्रदेश १ मा आज एक हजार २७२ जनासहित कुल एक लाख ६२ हजार ४१४ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्