नेपालमा थप १७ जना कोरोना सङ्क्रमितको मृत्यु



फिदिम । नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जना कोराना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

योसँगै नेपालमा कोराना सङ्क्रमणबाट ज्यान गुमाउनेहरुको संख्या ९३७ पुगेको छ। नेपालमा कोराना सङ्क्रमणबाट आईतबार ५, सोमबार १५, मङ्गलबार १४, बुधबार ११, विहीबार १७ तथा शुक्रबार १६ जनाले ज्यान गुमाएका थिए।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानका थप दुई हजार ५०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सङ्क्रमित मध्ये ९७६ जना महिला र १५३२ जना पुरुष रहेका छन्। योसँगै कुल सङ्क्रमितको संख्या एक लाख ७० हजार ७४३ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख भए अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यका जिल्लाहरु मध्ये काठमाडौँमा १११३, भक्तपुरमा ४९, तथा ललितपुरका १९५ जनामा कोरोना संक्रमण देखिएको छ।

आजै दुई हजार २६४ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख गरिएको छ। कुल निको हुनेको संख्या एक लाख ३१ हजार २२२ जना रहेका छन्। हाल नेपालमा ३८ हजार ५८४ जना सक्रिय सङ्क्रमित रहेका छन् भने ९३७ जनाले ज्यान गुमाएका छन्।

नेपालमा कोरोनामुक्त जिल्लाहरुमा बाजुरा, मनाङ र मुस्ताङ्ग रहेका छन्। काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी (पूर्व), दाङ, रुपन्देही, कैलाली, झापा, सुनसरी र मोरङ जिल्लामा ५ सय भन्दा बढी सङ्क्रमित रहेका छन्।

प्रतिक्रिया दिनुहोस्