थप १७ जना कोरोना सङ्क्रमितको मृत्यु, कुल मृतकको संख्याले ९०० नाघ्यो



फिदिम । नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जना कोराना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

योसँगै नेपालमा कोराना सङ्क्रमणबाट ज्यान गुमाउनेहरुको संख्या ९०४ पुगेको छ । नेपालमा कोराना सङ्क्रमणबाट आईतबार ५, सोमबार १५, मङ्गलबार १४ तथा बुधबार ११ जनाले ज्यान गुमाएका थिए।

नेपालमा कोरोनामुक्त एक मात्र जिल्ला मुस्ताङ्ग रहेको छ। काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी ९पुर्व०, दाङ, रुपन्देही, कैलाली, झापा, सुनसरी र मोरङ जिल्लामा ५ सय भन्दा बढी सङ्क्रमित रहेका छन्।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानका थप दुई हजार ३६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सङ्क्रमित मध्ये ९८४ जना महिला र १३८० जना पुरुष रहेका छन्। योसँगै कुल सङ्क्रमितको संख्या एक लाख ६४ हजार ७१८ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

गत २४ घन्टामा काठमाडौँ उपत्यकामा ७०४ जना महिला र ९११ जना पुरुष गरी थप १६१५ जनामा सङ्क्रमण देखियो। हाल नेपालमा ३८ हजार ९५२ जना सक्रिय सङ्क्रमित रहेका छन् भने ९०४ जनाले ज्यान गुमाएका छन्।आजै तीन हजार ३८ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्