

पाँचथर । ‘नयाँ गन्तब्य’को रुपमा विकास भइरहेको तिम्बु पोखरी लक्षित सडक निर्माण सुरु भएको छ ।
पाँचथर र ताप्लेजुङको सीमा क्षेत्रमा पर्ने यो पोखरीसम्म पुग्न अहिले कम्तिमा दुई दिन पैदल यात्रा गर्नुपर्छ । पैदल यात्रा गर्नुपर्ने कम्तिमा आधा मार्गमा मोटरबाटो विस्तार गर्ने योजनाका साथ सडक निर्माण सुरु भएको हो । याङवरक गाउँपालिका वडा नं. १ टोड्केबाट सडक निर्माणको कार्य सुरु भएको छ । उच्च पहाडी क्षेत्र, कडा चट्टान तथा घना जङ्गल छिचोल्दै सडक निर्माण थालिएको हो । गत आर्थिक वर्षमा प्रदेश सरकारले बजेटबाट सडक निर्माण थालिएको हो ।
टोड्के माथि गोरुजुरेसम्म ५.३६० किलोमिटर सडकको ट्र्याक निर्माण पूरा भएको छ । टोड्केसम्म पुष्पलाल (मध्यपहाडी) लोकमार्ग विस्तार भएको छ । रु. ४१ लाख ४४ हजार ५७५ को लागतमा उक्त सुरुआति ट्र्याक निर्माण गरिएको हो ।
नयाँ पर्यटन गन्तब्य हुनुका साथै पर्यटक एवम् तीर्थयात्रीबाट प्रशस्त लाभ लिन सकिने भएपनि यहाँ त्यस प्रकारको पूर्वाधार र संरचना निर्माण हुन सकेका छैनन् । तिम्बु पोखरी लक्षित सडक निर्माणको पहल गर्दै आउनुभएका याङवरक–१ का अर्जुन बेघाका अनुसार याङवरक–२ मा पर्ने पहाडेमेगू भन्ने स्थानसम्म सडक विस्तार गर्ने योजना बनाइएको छ ।

उक्त स्थानबाट एकै दिनमा तिम्बु पोखरी दर्शन गरेर सोही स्थानसम्म फर्कन सकिन्छ । “यो सडक निर्माण पूरा गर्न सकिए लामो पदयात्रा गर्न नचाहने वा नसक्नेहरु समेत तिम्बु पोखरी पुग्न सक्छन्”, बेघाले भन्नुभयो, “अहिले तिम्बु पोखरी पुग्न चाहने कतिपय पर्यटक पदयात्रा धेरै लामो भएकै कारण नआउने गरेको सुनेका छौँ ।” छोटो पदयात्रा र उच्च पहाडमा सडक यात्राले धेरैलाई आकर्षित गर्नुका साथै स्थानीयवासीले ठूलो आम्दानी लिनसक्ने बेघाको ठम्याई छ ।
याङवरक गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङहाङ प्रदेश सरकारबाट क्रमागत रुपमा बजेट प्राप्त हुने भएकाले सडक निर्माण क्रमशः अघि बढ्ने वताउनुहुन्छ । “सरकारले नयाँ पर्यटन गन्तब्यको रुपमा घोषणा गरेकाले यहाँ सरकारी सुनिश्चित भएको छ”, योङहाङले भन्नुभयो । तिम्बु पोखरी १०० नयाँ पर्यटकीय गन्तब्यको रुपमा घोषित भएको छ । यहाँ ताप्लेजुङको कालिखोला क्षेत्रबाट समेत सडक, सहज पदमार्ग तथा अन्य पूर्वाधार निर्माणका काम सुरु भएका छन् ।
तिम्बु पोखरी लक्षित सडक निर्माण सुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । गोरुजुरेमा गाई गोठ राखेका भक्तराज बेघा उक्त सडक निर्माणले पर्यटकको संख्या बढ्ने वताउनुहुन्छ । पर्यटकको संख्या बढेसँगै स्थानीयवासीले रोजगारी पाउने र स्थानीय उत्पादनले मूल्य पाउने उहाँको अपेक्षा छ । तिम्बु पोखरी जाने अधिकांश आन्तरिक पर्यटक बेघा लगायत गाई, भेडा तथा चौरी पालकका गोठमा बास बस्ने गर्दछन् ।
“यहाँ आउने धेरै मानिसले लामो समय हिड्न कठिन भएको र कम्तिमा आधा बाटोसम्म भएपनि सडक निर्माण हुनुपर्ने वताउँछन्”, बेघाले भन्नुभयो, “सडक तथा अन्य पूर्वाधार नहुँदा पदयात्रीले दुःख पाउने गरेका छन् ।” आफ्नो गोठमा वर्षेनि १०० भन्दा बढी पदयात्री बास बस्ने गरेको सुनाउँदै बेघाले सडक र अन्य पूर्वाधार निर्माण भए स्थानीयवासीको आयआर्जन वृद्धिमा ठूलो सघाउ पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

याङवरक–१ चित्रेका नरबहादुर बेघा पहाडेमेगूसम्म सडक पुग्न सके पर्यटकको संख्या वृद्धि हुने वताउनुहुन्छ । “यहाँ धेरै लगानी गरिए धेरै आम्दानी पनि हुन्छ”, बेघाले भन्नुभयो, “बस्ने ठाउँ छैनन् । राम्रोसँग खान, बस्न नपाई ४÷५ दिन हिँड्नुपर्ने बाध्यता छ ।” तिम्बु पोखरी विशेषत आन्तरिक पर्यटकहरु तथा तीर्थयात्रीहरुको आकर्षणमा पर्ने गरेको छ । ४४८० मिटर उचाईमा रहेको तिम्बु पोखरी सुन्दर प्राकृतिक छटा, अत्याकर्षक भू–बनोट, सामुन्नेमा कुम्भकर्ण हिमाल देखिने र पोखरी नै पोखरीहरु रहेको क्षेत्र हो ।
यहाँसम्म पुग्ने बाटो उच्च पहाड, ठूल्ठुला चट्टान र भीर पहराहरु, समथर फाँट र चौरीहरु, चौरी र भेडा पालन, विभिन्न प्रकारका प्राकृतिक फूलका फूलबारीहरु, जडिबुटी तथा लोपोन्मुख वन्यजन्तुहरु पाइने हुँदा झनै आनन्ददायक हुने गर्दछ । यहि कारण पर्यटकहरुको वर्षेनि बढ्दै गएको याङवरक–१ हर्कटेका तारावीर राईको भनाई छ । “विदेशी पर्यटक समेत भित्र््याउन सकिन्छ भन्ने हाम्रो अपेक्षा छ”, राईले भन्नुभयो, “सडक निर्माणलाई निरन्तरता दिइनुपर्छ भन्ने हाम्रो माग छ । अलि प्रशस्त बजेट छुट्टिए राम्रो हुन्थ्यो ।” तिम्बु पोखरी क्षेत्रको प्रवद्र्धनले पूर्वको पर्यटन विकासमै ठूलो मद्दत गर्ने राईको भनाई छ ।
याङवरक–१ च्याङथापूका ब्यवसायी गंगाराम गौतम तिम्बु पोखरीको प्रचार र प्रवद्र्धनका लागि थप पूर्वाधार आवश्यक रहेको औल्याउनुहुन्छ । “एक त यो स्थान पर्यटकका लागि आकर्षक छ भने पुग्नै पर्ने धार्मिक स्थलको रुपमा पूर्वमा प्रचारित पनि छ”, गौतमले भन्नुभयो, “जानुपर्छ भन्ने थाहा भएर पनि जान नसेकका पर्यटकलाई ल्याउन सडक सहित अन्य संरचना निर्माण गर्नुपर्छ ।” यस वर्ष कोभिड–१९ सङ्क्रमणको जोखिम र महामारी रहेपनि पर्यटकको संख्या उल्लेख्य पाइएको गौतमको भनाई छ ।
