समुदायमा सङ्क्रमण देखिएपछि मिक्लाजुङमा एक साताका लागि निषेधाज्ञा



पाँचथर, १२ कात्तिक
पाँचथरको मिक्लाजुङ गाउँपालिकामा समुदायमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

मिक्लाजुङ–४ रबीका छ जना स्थानीयवासीमा सङ्क्रमण देखिएपछि आजदेखि कात्तिक १८ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । गाउँपालिका अध्यक्ष अमरराज माखिमले सार्वजनिक सूचना जारी गर्दै अत्यावाश्यक बाहेकका सम्पूर्ण सेवा एक साताका लागि बन्द गरिएको जानकारी दिनुभएको छ ।

गाउँपालिकाले औषधि पसल, दूग्ध डेरी बाहेक ब्यापार ब्यवसाय बन्द गर्नुका साथै ग्रामीण भेगमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै शवबाहन, एम्बुलेन्स, निर्माण सामग्री ढुवानी गर्ने साधन बाहेक सम्पूर्ण सवारीका साधन समेत उक्त अवधिका लागि बन्द गरिएको गाउँपालिकाद्वारा आज जारी सूचनामा उल्लेख छ ।

गाउँपालिकाको स्वास्थ्य इकाईका प्रमुख अग्नी चम्लागाईका अनुसार कात्तिक ४ गते झापाको दमकबाट रबी आएकी एक महिलामा गरिएको परीक्षणमा कोभिड–१९ सङ्क्रमण देखिएको थियो । आज सङ्क्रमित महिलाको सम्पर्कमा रहेका उनका एक छोरा र उनी बस्दै आएको घरका तीन जना महिला र एक जना पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

छ जना सङ्क्रमतिमध्ये एक जनालाई ज्वरो सहित कोरोनाभाइरस सङ्क्रमणका लक्षण देखिएको स्वास्थ्य इकाई प्रमुख चम्लागाईले जानकारी दिनुभयो । उनीहरुमध्ये दुई जनालाई प्राथमिक स्वास्थ्य केन्द्र रबीको कोभिड–१९ अस्थायी अस्पतालमा राखिएको छ भने चार जना होम आइसोलेसनमा रहेका छन् । पाँचथरमा पहिलो पटक समुदायमा कोभिड–१९ सङ्क्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्