याङवरकमा आफ्ना कार्यालयका लागि आफ्नै भवन



याङवरक गाउँपालिका वडा नं. २ को निर्माणाधीन भवन ।

पाँचथर । याङवरक गाउँपालिकाले आगामी वर्षभित्र आफ्नै भवनबाट सेवा सञ्चालन गर्ने तयारी थालेको छ ।

हालसम्म गाउँ कार्यपालिकाको कार्यालय र दुई वटा वडा कार्यालयहरु भाडाको घर तथा सामुदायिक भवनबाट सञ्चालन भइरहेकामा तीन वटै भवनविहीन कार्यालयको भवन निर्माण कार्य सुरु भएको हो । याङवरक गाउँ कार्यपालिकाको प्रशासकीय भवन याङवरक–४ निशान धाम छेउमा निर्माण सुरु भएको छ ।

गाउँपालिकाको सिमित स्रोत तथा बजेटलाई सदुपयोग गर्दै प्रदेश र संघीय सरकारबाट भवन निर्माणका लागि प¥याप्त बजेट प्राप्त नभएको अवस्थामा समेत तीन तले प्रशासकीय भवन निर्माण कार्य सुरु भएको हो । यस्तै गाउँपालिकाको वडा नं. २ र ५ को वडा कार्यालय भवन निर्माण कार्य गत असारबाट सुरु भएको छ ।

याङवरक गाउँपालिका वडा नं. २ को निर्माणाधीन भवनको अवलोकन गर्दै गाउँपालिका उपाध्यक्ष कमलकुमारी योङहाङ ।
याङवरक गाउँपालिका वडा नं. २ को निर्माणाधीन भवनको अवलोकन गर्दै गाउँपालिका उपाध्यक्ष कमलकुमारी योङहाङ ।

गाउँपालिकाको तीन तले प्रशासकीय भवन निर्माणको ठेक्का महादेवी खिम्ती÷अञ्जना÷हिमतारा जेभीले लिएको छ । कुल रु. पाँच करोड ४१ लाख ४३ हजार ५६ रुपैयाँ लागतमा भवन निर्माणको ठेक्का सम्झौता गरिएको छ ।

गत जेठ २९ मा भएको ठेक्का सम्झौताअनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता गरिएको छ । भवन निर्माणको कार्य गत असारबाटै सुरु भएको छ । हालसम्म भवनको जग निर्माणको कार्य पूरा भएको गाउँपालिकाका इन्जिनियर शरद दाहालले जानकारी दिनुभयो । जगमा ४० वटा हात्तिपाइले पिल्लर राखिएको छ ।

याङवरक गाउँपालिका वडा नं. २ वडा कार्यालय भवन निर्माण कार्य गत असारमा सुरु भएको हो । उक्त भवनको दुई तलाको ढलान सम्पन्न भइसकेको छ । अढाई तले भवन दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने योजना छ । हिमतारा आरके जेभीसँग १ करोड ७० लाख ४८ हजार ९८२ रुपैयाँ लागतमा उक्त भवन निर्माणको ठेक्का सम्झौता भएको हो । भवनको आरसीसी, दुई तला ढलान र पहिलो तलामा इटा जडानको काम सम्पन्न भइसकेको छ । भवनमा आवश्यकताअनुसार कोठा रहनेछन् । उक्त भवन निर्माण कार्यको गत असार १६ गते गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरे, उपाध्यक्ष कमलकुमारी योङहाङबाट शिलान्यास भएको थियो ।

याङवरक गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरुआत ।

यस्तै वडा नं. ५ को वडा कार्यालय भवनको गत असार १८ गते गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरे, उपाध्यक्ष कमलकुमारी योङहाङबाट शिलान्यास भएको थियो । हिमतारा आरके जेभीसँगै १ करोड ६२ लाख १८ हजार ४८८ रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको भवन निर्माण कार्य असारबाटै अगाडि बढेको छ । गत जेठ ४ गते दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको भएपनि दशैं अघि नै दोश्रो तलाको ढलान समेत सम्पन्न हुन लागेको छ । अढाई तले भवनमा आवश्यकताअनुसार कोठाहरु रहनेछन् ।

तीन वटै भवन निर्माण कार्यको याङवरक गाउँपालिकाका नियमित अनुगमन भइरहेको छ । “आगामी फागुनभित्र दुवै वडा कार्यालयबाट सेवा सञ्चालनमा ल्याउने तयारी गरेका छौँ”, याङवरक गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङहाङले भन्नुभयो, “छिटो निर्माण पूरा गरेर पुरस्कार जित्न निर्माण ब्यवयायीलाई भन्दै आएका छौँ ।” आफ्नो भवनबाट सेवा प्रवाह गर्दा सेवा प्रवाहमा सहजता हुनुका साथै गुणस्तर कायम गर्न सहज हुने, काम गर्न जनप्रतिनिधि तथा कर्मचारीहरुलाई सहज हुने गाउँपालिकाको अपेक्षा छ ।

याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेका अनुसार प्रदेश र संघीय सरकारबाट सिमित सहयोग प्राप्त हुँदाहुँदै पनि गाउँ कार्यपालिकाको ठूलो हिम्मतले तीन वटै भवन निर्माणको काम सुरु भएका हुन् । “हामीसँग प¥याप्त बजेट थिएन्”, अध्यक्ष घिमिरेले भन्नुभयो, “गाउँपालिकाका लागि अत्यावाश्यक भएका कारण तीन वटै भवन निर्माण थाल्ने हिम्मत गरेका हौँ ।” गाउँपालिकाका सेवा आगामी एक वर्ष भित्र आफ्नै भवनबाट सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको अध्यक्ष घिमिरेको भनाई छ ।

याङवरक गाउँ कार्यपालिकाको कार्यालय तत्कालीन थर्पू गाविसको कार्यालयबाट सञ्चालन हुँदै आएको छ भने विषयगत शाखाका कार्यालयहरु घर भाडामा लिई सञ्चालित छन् । यस्तै वडा नं. २ को कार्यालय भाडाको घरमा तथा वडा नं. ५ को कार्यालय सामुदायिक भवनबाट सञ्चालित छन् ।

वडा नं. १ को कार्यालय साविक च्याङथापू गाविसको कार्यालयबाट, वडा नं. ३ को कार्यालय साविक ओयाम गाविसको कार्यालयबाट, वडा नं. ४ को कार्यालय गाउँपालिकाको कार्यालयसँगै रहेको भवनबाट तथा वडा नं. ६ को कार्यालय साविक नागी गाविसको कार्यालयबाट सञ्चालित छन् । गाउँपालिकाको प्रशासकीय भवन निर्माण पूरा भएपछि वडा नं. १ को कार्यालय हाल गाउँपालिकाको कार्यालय रहेको भवनबाट सञ्चालन गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्