मिक्लाजुङकी गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार



पाँचथर, १२ कात्तिक
पाँचथरको मिक्लाजुङ गाउँपालिकाकी एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरी सुत्केरी गराइएको छ ।

यौनजन्य समस्याका कारण सुत्केरी गराउन शल्यक्रिया गर्नुपर्ने अवस्थामा रहेकी मिक्लाजुङ–१ चोक्रेकी ३८ वर्षीया यामकुमारी चेम्जोङ (आङ्देम्बे)लाई आज हेलिकप्टर मार्फत उद्धार गरिएको हो । मिक्लाजुङ–१ का वडाध्यक्ष विष्णुकुमार राईका अनुसार गर्भवती महिलालाई आज विहान स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी गराउन ल्याइएको थियो ।

स्वास्थ्यकर्मीहरुले यौनजन्य समस्या रहेकी ती महिलालाई सुत्केरी गराउन शल्यक्रिया गर्नुपर्ने वताएका थिए । नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र रबीमा शल्यक्रिया नहुने र सदरमुकाम फिदिम पु¥याउन समय लाग्ने भएपछि मिक्लाजुङ गाउँपालिका र जिल्ला प्रशासन कार्यालय पाँचथरको समन्वयमा हेलिकप्टर मगाइएको हो । हेलिकप्टरको आवश्यकता रहेको थाहा पाउनासाथ भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले विशेष पहल गरेपछि समयमै हेलिकप्टर आइपुगेको थियो ।

आज दिउँसो उद्धार गरिएकी गर्भवती महिलाको विराटनगरको विराट नर्सिङ होममा शल्यक्रिया मार्फत शीशू जन्मिएको वडाध्यक्ष राईले जानकारी दिनुभयो । सरकारी उद्धारबाट गर्भवतीको ज्यान बच्नुका साथै सकुशल बच्चा समेत जन्मिएपछि गर्भवती महिलाका श्रीमान मनबहादुर आङ्देम्बे सहितका आफन्तले स्थानीय जनप्रतिनिधि, प्रशासन तथा सरकारलाई धन्यवाद दिएका छन् ।

सरकारले ल्याएको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत पाँचथरबाट गर्भवती महिलाको उद्धार गरिएको यो तेश्रो पटक हो । यसअघि जिल्लाको तुम्बेवा गाउँपालिकाका दुई जना गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरी सुत्केरी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्