कोभिड विशेष अस्पताल स्थापना



पाँचथर । याङवरक गाउँपालिकाले कोभिड–१९ (कोरोना भाइरस) विशेष अस्थायी अस्पताल स्थापना गरेको छ ।

याङवरक गाउँपालिका वडा नं. ४ थर्पू बजार स्थित निर्माणाधीन सामुदायिक भवनमा अस्थायी अस्पताल निर्माण गरिएको हो । कोभिड–१९ को सङ्क्रमण निरन्तर बढेसँगै स्थानीय स्तरमा समेत यसका सङ्क्रमित तथा विरामीहरु फेला पर्नसक्ने देखिएपछि अस्थायी अस्पताल निर्माण थालिएको हो । अस्थायी अस्पताल निर्माणका लागि संघीय सरकारले स्थानीय तहहरुलाई सहयोग गरेको छ ।

याङवरक गाउँपालिकाले गाउँपालिकाद्वारा निर्माणाधीन अवस्थामा रहेको सामुदायिक भवनको पहिलो तला निर्माणको कार्यलाई पूरा गरी अस्थायी अस्पताल स्थापना गर्न लागेको हो । अस्थायी अस्पताल सञ्चालनका लागि संरचना तयार भइरहेका छन् । अस्पतालका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्री गाउँपालिकाबाट खरिद भइसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोहिणी आचार्यले वताउनुभयो ।

यस्तै अस्पतालका लागि एक जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी नियुक्त भइसकेका छन् । अस्पतालका लागि एक चिकित्सक (मेडिकल अफिसर) नियुक्ती गर्ने समेत गाउँपालिकाको तयारी छ । यसअघि सो पदका लागि समेत लिखित र मौखिक परीक्षा पूरा भएपनि एकमात्रै प्रतिस्पर्धी भएको उहाँ हाजिर हुन नआएको प्रमुख प्रशासकीय अधिकृत आचार्यले वताउनुभयो ।

कोभिड–१९ विशेष अस्थायी अस्पताल निर्माणको अवस्थाबारे याङवरकमा जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटा, प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मा सहित सरोकारवाला निकायले स्थलगत निरीक्षण समेत गर्नुभएको छ । यस क्रममा गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरे, उपाध्यक्ष कमलकुमारी योङहाङ, प्रमुख प्रशासकीय अधिकृत रोहिणी आचार्य, याङवरक–६ का वडाध्यक्ष ताराबहादुर योङहाङ, स्वास्थ्य शाखाका प्रमुख रविन खत्री लगायतले अस्थायी अस्पताल र क्वारेन्टिन सञ्चालनवारे जानकारी गराउनुभएको थियो ।

यस्तै याङवरक गाउँपालिकामा विद्यालयमा रहेका क्वारेन्टिनहरु हटाइएको छ । वैकल्पिक माध्यमबाट शिक्षण सिकाई क्रियाकलाप सञ्चालनमा ल्याउन क्वारेन्टिन हटाइएको हो । गाउँपालिकाले वडा नं. ६ को वडा कार्यालय छेउ खाली घर भाडामा लिई क्वारेन्टिन सञ्चालनमा ल्याइसकेको छ ।

समुदायस्तरमा सङ्क्रमण फैलिएको स्थानबाट आएका तथा विदेशबाट आएका ब्यक्तिहरुलाई क्वारेन्टिनमा राखिने भएको छ । वडादशैँ, तिहार लगायत पर्वहरुमा गाउँ भित्रनेको संख्या उच्च हुने र समुदायमा कोरोनाभाइरस सङ्क्रमण हुनसक्ने अवस्थालाई दृष्टिगत गर्दै क्वारेन्टिन सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरेले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्