आयुर्वेदिक सेवामा आकर्षण बढ्दै



पाँचथर, १२ कात्तिक
सदरमुकाम फिदिममा स्थापना हुने वित्तिकै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पाँचथरबाट सेवा लिनेको संख्या उल्लेख्य हुन थालेको छ ।

विगतमा पाँचथर–इलाम सीमावर्ती राँके बजारमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले गत भदौ २१ गतेदेखि सदरमुकाम फिदिमबाट सेवा दिन थालेपछि सेवाग्राहीहरुले सेवा लिने मौका पाएका हुन् । सदरमुकाम फिदिमबाट सेवा सुरुआत भएपछि दैनिक औषत २० जना सेवाग्राहीले आयुर्वेदिक सेवा लिन थालेका छन् ।

केन्द्रको स्थापनापछि विशेषतः ग्याष्ट्रिक र बाथ रोगका विरामीहरुले सेवा लिन थालेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पाँचथरका सूचना अधिकारी खगेन्द्र पौडेलले जानकारी दिनुभयो । यसअघि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले फिदिम–२ पल्लोटारमा सेवा केन्द्र स्थापना गरी सेवा दिँदै आएको थियो । उक्त सेवा केन्द्रमा निकै न्यून सेवाग्राही हुने गरेकामा जिल्ला सेवा केन्द्रमा उल्लेख्य सेवाग्राही आएपछि आयुर्वेद स्वास्थ्यकर्मीहरु समेत हौसिएका छन् ।

“जिल्ला स्वास्थ्य केन्द्रको सेवाबारे प्रशस्त प्रचार नहुँदा समेत सेवाग्राहीहरुको संख्या उल्लेख्य हुनुले भविश्यमा आयुर्वेदमा यहाँका सेवाग्राहीको आकर्षण बढ्ने देखिन्छ”, कविराज समेत रहनुभएका उक्त कार्यालयका सूचना अधिकारी पौडेलले भन्नुभयो, “सेवाग्राहीको चाप र आवश्यकता बमोजिम सेवा विस्तारमा जोड दिइरहेका छौँ ।”

उक्त कार्यालयले पूर्वकर्म, पञ्चकर्म लगायत आयुर्वेदिक उपचार पद्धति कार्यान्वयनमा ल्याइसकेको छ । पूर्वकर्म र पञ्चकर्ममै शारीरिक, मानसिक, यौनजन्य समस्या समाधानका विभिन्न उपचार पद्धतिहरु पर्ने सूचना अधिकारी पौडेलको भनाई छ ।

“विरामीको समस्याका आधारमा सेवा दिइने हुँदा यति प्रकारका सेवा दिइन्छ भन्ने यकिन छैन्”, सूचना पौडेलले भन्नुभयो, “हालसम्म स्वास्थ्य समस्या लिएर आउनुभएका अधिकांशका समस्या समाधान भएका छन् ।” दशैंपछि प्रयोगशाला र बेड स्थापना गरी सेवा दिने कार्यालयको तयारी छ ।

यहाँबाट सामान्य सेवाअन्तर्गत २३ प्रकारका औषधि विरामीहरुले निःशुल्क प्राप्त गरिरहेका छन् । ‘जेष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रम’ अन्तर्गत जेष्ठ नागरिकहरुले दुई प्रकारका शारीरिक क्षमता बढाउने औषधि तथा सुत्केरी महिलाहरुले तीन प्रकारका दूग्धवद्र्धक औषधि निःशुल्क प्राप्त गरिरहेका छन् । कुनैपनि प्रकारको ‘साइड इफेक्ट’ नगर्ने औषधि निःशुल्क पाइएपछि पनि यहाँ सेवाग्राहीको संख्या उल्लेख्य हुँदै गएको हो ।

यहाँ थेरापीका लागि पुरुष र महिला स्वास्थ्यकर्मीको ब्यवस्था गरिएको पौडेलले वताउनुभयो । उक्त कार्यालयले स्वस्थ जीवन कार्यक्रम समेत सञ्चालनमा ल्याउने तयारी गरेको छ । उक्त कार्यक्रममा समुदायमा गएर योग, प्राणायम, ब्यायाम लगायत शारीरिक स्वस्थताका विधिहरु सिकाई तिनको प्रयोगमा जोड दिने, आम मानिसको शारीरिक अवस्थाको परीक्षण गर्ने तथा जडिबुटी खुवाइने पौडेलले जानकारी दिनुभयो ।

राँकेमा रहेको उक्त कार्यालय गत भदौ १४ गते फिदिम सारिएको थियो । भदौ २१ गतेबाट सामान्य सेवा दिन थालेको कार्यालयले असोज १८ गतेबाट पञ्चकर्म लगायतका सेवा दिन थालेको हो । “पञ्चकर्मबाट उपचार गरिएकाहरु निको नभएको भेटेका छैनौँ”, पौडेलले भन्नुभयो, “विस्तारै गाउँ–गाउँमा यहाँको सेवाबारे प्रचार भएपछि सेवाग्राहीको चाप हुने अनुमान गरेका छौँ ।”

सदरमुकाममा अन्य सेवा लिन आउनेहरुले समेत आयुर्वेदिक सेवा लिई जीवन पद्धति परिवर्तनमा चासो देखाउन थालेका छन् । कोरोनाभाइरसको महामारी र दशैं लगायत पर्व नजिकिँदा समेत सेवाग्राहीले चासो देखाएपछि फुर्सदका अन्य समयमा सेवा लिनेको भीड नै लाग्नसक्ने आँकलन उक्त कार्यालयको छ ।

कोभिड–१९ को महामारीसँगै आयुर्वेदिक उपचार पद्धतिको प्रवद्र्धन, शारीरिक क्षमता विकास, जडिबुटीको सेवन लगायत विषय चर्चामा आएसँगै आयुर्वेदिक उपचार पद्धतिप्रति आम नागरिकको चासो बढ्न थालेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आयुर्वेदिक उपचार पद्धतिको प्रवद्र्धनमा जोड दिएको विषय सार्वजनिक भएपछि नयाँ स्थापना भएको कार्यालयमा आयुर्वेदिक उपचार पद्धतिबारे बुझ्न मात्रै समेत कयौँ मानिस पुग्न थालेका छन् । उक्त कार्यालयमा एक जना आयुर्वेद चिकित्सक, एक जना कविराज, एक जना वैद्य, दुई जना अभ्यङ्गकर्ता र दुई जना कार्यालय सहयोगी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्