यसपाली दशैँमा पाथीभरा मन्दिर सुनसान



फिदिम । ताप्लेजुङमा रहेको प्रख्यात देवीको शक्तिपीठ पाथीभरा यस वर्षको दशैमा पनि सुनसान बन्न पुग्यो । कोरोना भाइरसको महामारीका कारण मन्दिर दर्शनका लागि भक्तालुहरु आउन अनुमति नभएपछि दशैका बेला पनि मन्दिर सुनसान बनेको हो ।

विगतका दशैको नौरथामा दैनिक ५ हजारदेखि १५ हजारसम्म भक्तजनहरु आउने गर्दथे तर, यो बर्ष भक्तजनको आवतजावत शुन्य नै रहेको छ । खासगरी दशैका बेलामा विशेष पूजाका लागि भक्तजनहरु आउने गर्दछ ।

मन्दिर दर्शनका साथै प्राकृतिसँग खेल्न, मजा लिन पनि आन्तरिक पर्यटकहरु यहाँ आउने गर्छन् । पाथीभरबाट देखिने नेपालको दोस्रो तथा विश्वको तेश्रो अग्लो हिमाल कञ्जनजंघा, कुम्भकर्ण आखाँका अगाडी हातले छोइला जस्तो आभाष यहाँ आउनेहरुलाई हुने गर्दछ ।

जिल्लामा पनि कोरोनाको संक्रमण देखिएपछि जिल्ला प्रशासनले पाथीभरा मन्दिरमा दर्शनका लागि प्रतिबन्ध लगाएको छ । मन्दिरको दर्शनका लागि आउने–जानेहरुबाट कोरोना संक्रमणको सम्भावना बढ्ने डरका कारण स्थानीय प्रशासनले पाथीभरा मन्दिरको दर्शन तथा अवलोकनमा तत्कालका लागि प्रतिवन्ध लगाएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले बताए ।

दशैका बेला भक्तजनहरुको ठुलो उपस्थिति हुने र यसरी भिड हुँदा अहिलेको अवस्थामा कोरोना संक्रमणको फैलावट बढ्ने डरका कारण मन्दिरमा नित्य पूजाबाहेक दर्शन, अवलोकन र भ्रमण रोक लगाइएका कारण सर्वसाधारण मन्दिरमा आउन नपाएको मन्दिरका पुजारी डिल्ली आचार्यले बताए । पाथीभरामा नेपालबाट मात्र नभई भारतको सिक्किम, दार्जिलिङ, आसाम, गान्तोक, र बंगालका नागरिकसमेत दर्शनका लागि आउने गर्छन ।

प्रतिक्रिया दिनुहोस्