पहिलो पटक नचाइएन् निशान



पाँचथर, १० कात्तिक
पाँचथरको याङवरकमा वर्षेनि महानवमीका दिन नचाइने निशान यस वर्ष कोरोनाभाइरस सङ्क्रमणको त्रासका कारण नचाइएन् ।

नेपाल एकीकरणका क्रममा तत्कालीन लिम्बुवान पक्षले पाएका ताम्रपत्र र दुई वटा निशान पाँचथरको याङवरक गाउँपालिका वडा नं. ४ स्थित कालिका धाममा नचाउने गरिएको थियो । कोभिड–१९ को महामारीका कारण इतिहासमै पहिलो पटक निशान नचाउने काम स्थगित भएको निशान मेला ब्यवस्थापन समितिका अध्यक्ष एवम् याङवरक गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष शहरनन्द योङहाङले वताउनुभयो ।

निशान नचाउने कार्यक्रम राखिए ठूलो संख्यामा दर्शनार्थी सहभागी हुने र सङ्क्रमण फैलन त्रास रहने भएकाले निशान नचाउने मेला स्थगित गरिएको योङहाङले वताउनुभयो । यस वर्ष मेला स्थगित भएपनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै निशान सहितका हातहतियार र कालिका धाममा पूजा अर्चना गरिएको छ ।

नेपाल एकीकरणका क्रममा तत्कालीन गोरखा र लिम्बुवान फौजवीच कयौँ पटकका लडाँईमा हार जित हुन नसकेपछि दुई पक्षवीच सम्झौता हुँदा लिम्बुवान पक्षले पाएको ताम्रपत्र र उपहारको रुपमा पाएका निशान नचाउने गरिएको थियो । कोरोनाभाइरस सङ्क्रमणको त्रासले करीब अढाई सय वर्षपछि पहिलो पटक निशान नचाउने क्रम यस वर्ष रोकिएको अध्यक्ष योङहाङले जानकारी दिनुभयो ।

एकीकरणका क्रममा लडाँईमा गोरखा फौजले प्रयोग गरेका हातहतियार सहितका दुई वटा निशान प्रत्येक वर्षको महानवमीका दिन याङवरक–४ स्थित कालिका धाममा प्रदर्शन गर्ने तथा पशुको बली दिने गरिएको थियो । युद्धकै शैलीमा पुराना हातहतियार सहित नचाइने निशान हेर्न देश तथा विदेशबाट समेत दर्शनार्थीहरु आउने गर्दथे । कालिका धाम र सँगै रहेको याङवरक (पैसाको पोखरी) दर्शनले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ ।

यहाँ श्रीजङ्ग र श्रीकम्फू नामका दुई वटा निशान रहेका छन् । निशान प्रदर्शन हेर्न पाँचथर सहित पूर्वका ताप्लेजुङ, तेह्रथुम, धनकुटा, इलाम, झापा लगायत जिल्लाबाट तथा भारतको सिक्किम र दार्जिलिङ तथा भुटानबाट समेत दर्शनार्थी आउने गरेको मेला ब्यवस्थापन समितिका अध्यक्ष योङहाङले वताउनुभयो ।

विगतमा नवरात्र सुरु भएसँगै घटस्थापनाका दिनबाटै यहाँ पूजा अर्चना हुने गर्दथ्यो । तर यस वर्ष त्यस्तो हर्षोल्लास नदेखिएको स्थानीयवासीले वताएका छन् । निशान र हात हतियार वि.सं. १८३१ सालदेखि केही समय पाँचथरको याङवरकमै राखिएकामा वि.सं. १८८० देखि श्रीकम्फू र वि.सं. १९१२ देखि श्रीजङ्ग निशान सहितका हतियार प्रदर्शन गर्न थालिएको हो । (तस्वीरहरु सामाजिक सञ्जालबाट प्राप्त ।)

प्रतिक्रिया दिनुहोस्