आज बडादशैँको मुख्य दिन, टीका लगाउने उत्तम साइत १०ः१९ बजे



फिदिम। नेपालीहरुको महान चाड विजयादशमीको आज मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । आज देवी विसर्जनको साइत बिहान १०ः११ बजे र टीकाप्रसाद ग्रहण गर्ने उत्तम साइत १०ः१९ बजे रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उहाँले वताउनुभयो । तर राज्य सञ्चालकले पनि साइतै टीका लगाउनु पर्ने धर्मशास्त्रविद प्रा.डा. गौतम बताउनुहुन्छ । “राज्य सञ्चालकले शुभसाइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ” धर्मशास्त्रविद गौतमले भन्नुभयो ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट जल अभिषेक गरी विजयादशमीको टीका लगाउने गरिन्छ । कतिपय जिल्लामा आज एक दिनमात्रै र कतिपय जिल्लामा आजदेखि कोजाग्रत पूर्णिमासम्म टीका थप्ने चलन छ । गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादसैंकै सबैभन्दा महत्वपूर्ण दिन हो । सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले असत्यको प्रतीक रावणमाथि आजकै दिन विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ ।

कोरोना संक्रमणको जोखिम रहेकाले टीका लगाइदिने र टीका थाप्ने व्यक्ति दुवैले मास्क लगाउनु पर्ने जनस्वास्थ्यविदहरुले सुझाव दिएका छन् । साथै आ–आफ्नो घरमै बसेर दसैं मनाउन पनि उनीहरुले आग्रह गरेका छन् । आजकै दिन मौर्यसम्राट् अशोकले शस्त्रास्त्र परित्याग गरेकाले बौद्धहरु शस्त्रपरित्याग दिवस मनाउँछन् ।

प्रतिक्रिया दिनुहोस्