यस्तो रहनेछ टीकाको दिनको मौसम



फिदिम । यस वर्ष दशैंको टीकाको दिनसम्म देशभर मौसम सफा हुने मौसमविदले बताएका छन् ।

मौसमविद शान्ति कँडेलले भनिन्, “देशभर मौसम डिस्टर्ब छैन । त्यसैले यस वर्ष हिले दशैं हुने सम्भावना छैन ।” पूर्वी भागको आकाशमा अलिअलि बादल लाग्ने र विशेष गरी प्रदेश १ को पहाडी भूभागमा छिटफुट वर्षाको सम्भावना भए पनि त्यसले केही असर नपर्ने मौसमविदको पूर्वानुमान छ ।

“प्रदेश १ को पहाडी भागका केही जिल्लामा पानी पर्दा पनि क्षणिक मात्रै, हल्कामात्रै हुने हो”, मौसमविद कँडेलले भनिन्, “त्यसले दशैंमा कुनै असर गर्दैन ।”

प्रदेश नं. १ सँग नजिक भएका प्रदेश नं. २ र बागमती प्रदेशका कुनै–कुनै ठाउँमा पनि बादल देखिने छ । तर पानी भने नपर्ने कँडेल बताउँछिन् । उनका अनुसार पश्चिम नेपालको आकाश भने पूरै छ्याङ्ग हुने छ ।

यो वर्ष विजया दशमीको टीका लगाउने उत्तम साइत कात्तिक १० गते बिहान १० बजेर १९ मिनेटको लागि जुरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्