कोही मानिस अरूप्रति किन क्रुर हुन्छन् ?

मानवीय ब्यवहारबारे बुझ्नैपर्ने तथ्यगत विषयहरु



बीबीसी

कोही मान्छे आफूलाई कुनै हानी–नोक्सानी नगर्नेप्रति किन अति धेरै क्रुर हुन्छन् ? अझ कहिलेकाहीँ त आफैंले जन्माएका सन्तानप्रति पनि कोहीकोही अत्यन्तै निर्दयी किन हुन्छन् ? मान्छेमा यस्तो नराम्रो बानी कसरी विकास हुन्छ होला ? यसले ती मानिसलाई के फाइदा पुर्‍याएजस्तो लाग्छ होला ?

सन् १६५८ मै फ्रान्सेली दार्शनिक ब्लेज पास्कलले एउटा निष्कर्ष निकालेका थिए: मान्छे भनेका यो संसारकै महान र संसारकै घिनलाग्दो अस्तित्व हो । आजका दिनसम्म आइपुग्दा त्यसमा थोरै मात्र फेरबदल भएको छ। हामी प्रेम गर्छौं र घृणा पनि गर्छौं। हामी कसैलाई मद्दत गर्छौं र कसैलाई नोक्सान पनि पारिरहेका हुन्छौं। हामी सहयोगको हात बढाइरहेका हुन्छौं र त्यही हातमा चक्कु समातेर बसेका पनि हुन्छौं ।

कुनै पनि मानिसले आक्रोशमा वा आफूलाई बचाउन कसैमाथि प्रहार गर्‍यो भने हामी त्यसलाई सहज वा परिस्थितिले निम्त्याएको अवस्था मान्छौं। तर, जब कोही मानिस उसलाई कुनै हानी नगरिरहेको मान्छेमाथि निर्दयी र क्रुर भयो भने स्वाभाविक हिसाबले हाम्रो मुखबाट निस्कन्छः ‘किन यस्तो गरेको ?’

यस्ता मान्छेको दिमागका केही पत्र केलाउने हो, सामान्यतया उसले यस्तो काम आनन्दका लागि गरिरहेको हुन्छ । नभए, आफूभित्र गुम्सिएको दुःख पन्छाउन वा कम होस् भनेर गरिरहेका हुन्छन् । अरू कसैले सास्ती वा पीडा पाइरहेको देख्दा हामीमध्ये धेरै मान्छेलाई उसको पीडा महशुस हुने गर्छ । र, यस्तो प्रकारको अनुभूति गर्नै नपरोस् भन्ने चाहन्छौं ।

यस्तो हो भने आखिर किन कोही मान्छे निर्दोष कसैलाई दुःख-पीडा दिन्छन् ?

यसमा उनीहरूलाई मुख्यतया दुई कुराले अभिप्रेरित गर्छ– या त उनीहरू अर्काको पीडा ठ्याम्मै महशुस गर्दैनन् । वा उनीहरू अर्काले सास्ती पाएको देख्दा आनन्द महशुस गर्छन् । निर्दोषमाथि दुःखको कहर बर्साउन खोज्नुको अर्को एउटा कारण पनि छ: आफूलाई कुनै खतरा महशुस गर्नु ।

कसैले तपाईंको शरीर वा सम्पत्तिमा कुनै असर नपारे पनि तपाईंको सामाजिक हैसियतमा केही दख्खल दिन सक्ने हुन सक्छ ।

अलि बुझ्न गाह्रो मानवीय चरित्रलाई जान्न यो कुराले मद्दत गर्छ: कसैबाट पैसा लिएर अरूलाई हानी पुर्‍याउने वा नोक्सान गर्ने । जस्तो, सिनेमाहरूमा कुनै खलपात्रले पैसा दिएकै कारण केही गुन्डाले कोही निर्दोष मानिसलाई कुटपिट गरेको देख्छौं ।

उदार समाजले सकभर कुनै पनि मानिसलाई सास्ती दिन रूचाउँदैन । यस्तो समाजमा अरूलाई अप्ठ्यारो पार्नु भनेको उसको नोक्सानी गरिदिएको अर्थ लाग्छ । तर केही दार्शनिकहरू यो मान्यता अस्वीकार गर्छन् । के यो २१ औं शताब्दीमा पनि हामी दयालु देखिनकै लागि आफूभित्र क्रुरता जीवितै राखिरहौंला ?

परपीडक (स्याडिस्ट) र मनोरोगी

अर्काले अइया र आथ्था गरिरहेको देखेर वा अपमानित भइरहेको थाहा पाएर रमाउने मति भएका मानिसलाई हामी परपीडक भन्छौं। त्यस्ता परपीडकको अचम्मको बानी हुन्छ । उनीहरू अर्काले जति पीडा भोगिरहेको हुन्छ, त्योभन्दा अझ धेरै पीडा महशुस गरिरहेको हुन्छ । र, पनि ऊ यसमा आनन्द मान्छ । मानिस पीडित भएको देखिरहुन्जेल ऊ रमाइरहन्छ । कथमकदाचित बीचैमा उसलाई त्यो दृश्यले आनन्द दिन छाड्यो भने उसको मनस्थिति फेरिन पनि सक्छ ।

परपीडकबारे कल्पना गर्दा हामी सबैको मनमस्तिष्कमा प्रायः हत्यारा, जल्लाद वा यातना दिने मानिसको तस्बिर आउँछ। तै पनि दैनिक जीवनमा भइरहने परपीडाका घटनामा त्यस्ता जल्लाद वा यातना दिनेभन्दा अलि कम क्रुर चरित्रहरू हामी जताततै देखिरहेका हुन्छौं ।

दैनिक जीवनमा देखिने परपीडकहरू अरुलाई सास्ती दिएर वा उनीहरूले भोगिरहेको दुःख देखेर आनन्दित भइरहेका हुन्छन् । उनीहरू रक्तपातपूर्ण सिनेमा मनपराउँछन्, हिंसा वा लडाइँका दृश्य देखेर उत्तेजित हुन्छन् । त्यस्ता प्रवृत्तिका मानिस अलि थोरै नै भए पनि दुर्लभै चाहिँ हुँदैनन् । हाम्रै वरपर हुन्छन् ।

एउटा अध्ययनमा स्नातक नगरेका ६ प्रतिशत जति विद्यार्थीहरूले अरूले सास्ती पाइरहेको देख्दा आफूहरूलाई रमाइलो लाग्ने स्वीकारेका छन् ।

अर्कालाई गिज्याउने (ट्रोल) र स्कुलमा सोझासाझालाई हेप्ने ९बुली० खालका प्रवृत्ति त दिनैजसो भेटिन्छन् । त्यस्ताको बदमासी इन्टरनेटबाट खेलिने खेलको चर्चित पात्र ‘ग्रिफर’ को जस्तै हुन्छ । ग्रिफर खेलहरू भताङभुतुङ पारिदिने शैतानी पात्र हो ।

परपीडकहरूले प्रायः कम्प्युटरका खेल पनि हिंस्रक किसिमकै छनौट गर्छन् । त्यस्ता खेलले उनीहरूलाई दिन प्रतिदिन अझ परपीडक बनाउँदै लगिरहेको हुन्छ ।

मनोरोगीहरू भने परपीडकले जस्तो निर्दोषहरूलाई सकभर नोक्सान पुर्‍याउँदैनन् । किनभने परपीडकलाई जस्तो उनीहरूलाई त्यसबाट आनन्द मिलिरहेको हुँदैन । यिनीहरूलाई बरू केही न केही चाहिएको हुन्छ । र, त्यो चाहना कसैलाई हानी गरेर पूरा हुन्छ भने मनोरोगी पनि बिगार गर्नबाट पछि हट्दैनन् ।

उनीहरूले यति सजिलै यस्ता काम कसरी गर्छन् त ? यसको कारण हो, उनीहरूलाई कुनै पनि कुरा नराम्रो लाग्दैन । पछुतो हुँदैन । वा डर पनि लाग्दैन । यी भावना भए पनि अति नै कम हुन्छ । अरूले देखेर वा थाहा पाएर के भन्लान् भन्ने भय हुन्छ, तर त्यसले उनीहरूको व्यवहारमा केही फरक पार्दैन । यसले खतरनाक परिस्थितिहरू निम्त्याउन सक्छ ।

मानिसले सयौं वर्ष लगाएर आफूलाई घरेलु प्राणीका रुपमा विकास गरेका हुन् । यो प्रकृयाले नै हामीमा अरूलाई नराम्रो गर्नु हुँदैन भन्ने चेत विकास गर्दै ल्याएको हो । अरूलाई नोक्सान पुर्‍याउने, यातना दिने वा हत्या गर्नेहरूलाई पनि आफ्ना यी अनुभवले लामो समयसम्म सताइरहन सक्छ । मनोरोगीहरूमा भने कसैले कुनै हिंसा गर्न लागेको छ भने घटना हुनुअगावै त्यसको जानकारी राख्न सक्ने क्षमता हुन्छ ।

कुनै मनोरोगीसँग हाम्रो भेटघाट हुन लागेको छ भने हामी त्यसनिम्ति तयार हुनै पर्छ । त्यस्ता मानिसको अनुहार हेरेर वा छोटो कुराकानीबाटै पनि उनीहरूलाई चिन्न सकिन्छ । दुर्भाग्यवश, हामीले उनको मानसिक अवस्था बुझिसक्यौं भन्ने कुरा मनोरोगीले बुझिसकेको हुन्छ । त्यसैले उनीहरूले सकभर व्यवस्थित तवरले लुगा लगाएर वा सजिएर प्रस्तुत हुन निकै कोशिस गर्छन्, ताकि पहिलो भेटमा राम्रो प्रभाव स्थापित गर्न सकियोस् ।

धन्न, धेरैजसो मानिसमा मनोरोगको लक्षण हुँदैन । ५ प्रतिशत मानिसमा यस्तो संकेत देखिन सक्छ । तर जेल जीवन बिताइरहेकामध्ये ८ प्रतिशत पुरुषमा र २ प्रतिशत महिलामा मनोरोगको लक्षण देखिन्छ ।

तर सबै मनोरोगी खतरनाक हुँदैनन् । असामाजिक चरित्र भएका मनोरोगीले लागुऔषध वा खतरनाक गतिविधिबाट आफ्नो तुष्टि मेटिरहेका हुन्छन् । सामाजिक चरित्र बोकेका मनोरोगीहरू भने नयाँनयाँ विचारहरूलाई बिना धक-डर अघि बढाएर त्यो तुष्टि मेट्छन् ।

आविष्कारहरूले हाम्रो समाजको आकार बदलेजस्तै सामाजिक चरित्रका मनोरोगीहरूले हाम्रो दुनियाँ बदलिदिन सक्छन्। तर यो राम्रो वा नराम्रो दुवै हुनसक्ने सम्भावना रहिरहन्छ ।

यस्तो लक्षण कताबाट आउँछ ?

केही मानिसहरू किन परपीडक चरित्रका हुन्छन् भन्ने प्रश्नको जवाफ कसैसँग छैन । कसै–कसैले अनुमान लगाएअनुसार शिकारी युगमा जनावरमाथि हिंसा अपनाउँदाका क्रममा यो प्रवृत्ति मानवले ग्रहण गरेका थिए । अर्काथरि चाहिँ मानिसलाई शक्ति आर्जन गर्न यस्तो प्रवृत्तिले सघाउ पुर्‍याएको अनुमान लगाउँछन् ।

इटालियन दार्शनिक निकोलो मेकियाभेलीले कुनै समय भनेका थिए, ‘मानिस आफू खराब हुँदैनन्, समयले उसलाई वितन्डा गर्न लगाउँछ ।’ यसैलाई पछ्याएर स्नायुविज्ञानले परपीडा भनेको अप्ठ्यारो समयमा जड हुनुभन्दा त्यसबाट जोगिन अपनाइने उपाय पनि हुन सक्ने बताएको छ ।

जब कुनै खानेकुराको अभाव सुरू हुन्छ, हाम्रो शरीरको सेरोटोनिन भनिने स्नायु ट्रान्समिटर तल झर्न थाल्छ । शरीरभित्र सेरोटोनिनको गिरावटले हामीलाई अरूलाई हानी वा नोक्सान पुर्‍याउन उक्साउँछ किनभने त्यसरी सास्ती पाएको देख्दा हामीलाई राहत महशुस हुन्छ ।

मनोरोगी चरित्र पनि मानवले यसैगरी अनुकूल बन्ने प्रयासकै क्रममा आफूमा विकास गरेको हुन सक्छ । कुनै कुनै अध्ययनले त जति बढी मानिस मनोरोगी भयो उसको उत्पादकत्व उत्तिकै बढ्ता हुने पनि देखाएको छ। फेरि अर्काथरिले त्यसै विषयमा ठीक विपरीत स्थिति पनि फेला पारेका छन् ।

यसो हुनुको कारणमा सायद मनोरोगीहरूमा कठिन परिस्थितिका बेला पुनरुत्पादन क्षमता देखिनु पनि हुन सक्छ ।

प्रतिस्पर्धी अनि बदलिइरहने दुनियाँमा मनोरोगको समस्या विस्तार हुनु स्वाभाविकै हो । मनोरोगीहरूको क्षमताले उनीरूलाई परिस्थितिसँग सामना गर्न विभिन्न उपाय निकाल्ने खेलमा माहिर बनाएको हुन्छ । आवेगमा चल्ने र डर नमान्ने प्रवृत्तिले उनीहरूमा जोखिम मोलेरै भए पनि तत्काल लाभ उठाउने बानी विकास भइरहेको हुन्छ । ‘वालस्ट्रिट’ फिल्ममा मनोरोगी पात्र गोर्डोन गेक्कोले लाखौं कमाइरहेको पनि देखाइएको छ ।

अहिलेको वैश्य युगमा यस्तो मनोरोगी हुनु फाइदाकै कुरो देखिए पनि यसको लाभ केबल पुरुष र उनीहरूमध्ये पनि थोरैलाई मात्र भइरहेको देखिन्छ ।मनोरोगीहरूमा देखिने सिर्जनशीलताले पनि लाभ पुर्‍याइरहेकै हुन सक्छ । गणितज्ञ एरिक वेइन्स्टेनले भनेका पनि छन्, मानिसको अस्वीकार गर्ने गुणले नै उसलाई आविष्कारतर्फ धकेल्छ ।

यति हुँदाहुँदै पनि यदि मानिसको परिवेशले उसलाई रचनात्मक ढंगले सोच्न मद्दत गरिरहेको छ भने यो मामलामा अस्वीकार गर्ने गुण त्यति प्रभावकारी रहँदैन । परपीडक र मनोरोग अन्य लक्षणसँग पनि जोडिन सक्छ, जस्तो अहंकारी हुनु वा मेकियाभेली -आफ्नो कुरो साबित गर्न अर्कालाई जसरी पनि गलत देखाउनु) हुनु। मानिसमा देखिने यस्तो लक्षणलाई छोटकरीमा ‘डी फ्याक्टर’ पनि भनिन्छ ।

यसमा पनि वंशाणुगत हिसाबले आउने सामान्यदेखि असाध्यै ठूलो प्रभावका लक्षण हुन्छन् । केह्यी मानिसहरू जन्मजातै यस्ता हुन्छन् । कसैमा भने उच्च मात्रामा ‘डी फ्याक्टर’ भएका आमाबाबुले सन्तानसँग अपमानजनक व्यवहार गर्दागर्दै उनीहरूलाई पनि यो गुण सारिदिन्छन् । त्यसैगरी यस्तो बानी–व्यहोरा भएका मानिस झेल्दाझेल्दै सामान्य मानिस पनि परपीडक व्यवहार गर्ने भइदिन सक्छ । यसरी हेर्ने हो भने मानिसमा हुने क्रुरता कम गर्न हामी सबैको भूमिका जरुरी देखिन्छ ।

भय र अमानवीयता

कुनै पनि मानिसलाई अपमानित गर्नु र दुःखी बनाउनुमा आनन्द उठाउने बानीलाई परपीडक भनिन्छ भनेर माथि भनिसक्यौं । तर, यदाकदा मानिसलाई गरिने सम्बोधनले पनि क्रुरता झल्काउँछ । कसैलाई कुकुर, बाँदर, गोरु, जुम्रा वा साङ्लोजस्ता नाम दिएर हामी ती मानिसलाई दुःखित तुल्याइरहेका हुन्छौं ।

यसबारेमा पनि खोजी भएको छ । अध्ययनले देखाएअनुसार कसैकसैले सामाजिक चरित्र गुम्ने कसिमको काम गरिदियो भने हाम्रो दिमागले त्यो मानिसको अनुहारमा मानवीय रूप देख्न कम गरिदिन्छ । यस्तो हुँदा नराम्रो व्यवहार गर्ने र सामाजिक मूल्यमान्यता खलल पार्नेलाई सजिलै सजाय दिइएको हुन्छ ।

हामीले कसैलाई मानवकै रुपमा देख्नु पनि उसको भावनामा चोट नपुर्‍याएको भन्ने ठहर भइरहेको छ । तर यो खतरनाक भ्रम पनि हो । मनोवैज्ञानिक पउल ब्लुमका अनुसार अमानवीय नगर्नुले पनि हामीभित्रको क्रुरता झल्काउँछ । मान्छे भनेकै दुःख, कष्ट र अपमान सहन नचाहने हुन्छन् भन्ने सोचले पनि परपीडकहरूले मान्छेलाई दुखी बनाउने काम गरिरहेका हुन सक्छन् ।

उदाहरणका निम्ति जर्मनीका नाजीहरूले यहुदीलाई परजीवि वा जुम्राको उपमा दिएर अमानवीकरण गरिदिएका थिए । यति हुँदाहुँदै पनि नाजीहरूले यहुदीलाई मार्ने निधोमा पुगे किनभने जतिसुकै मानव होइनन् भने पनि उनीहरूले यहुदीमा मानव रूप देखिरहेकै थिए र आफूहरूको व्यवहारले उनीहरूलाई अमानवीय सास्ती हुन्छ भन्नेमा जानकार थिए ।

राम्रा मानिसले गर्ने अपमान

कहिलेकाहीँ मानिसले आफ्ना लागि राम्रै गरिरहेकालाई पनि सास्ती दिन्छन् । यस किसिमको प्रवृत्तिलाई राम्रा मानिसले गर्ने अपमान (डु गुडर डेरोगेसन) भनिन्छ। यस्तो प्रवृत्ति संसारभर नै देखिन्छ । सिकारी युगमा सफल सिकारीहरूले ठूलो जनावर मारेकै कारण पनि अरूहरूले कुरा काटेको सहनु पर्थ्यो । जबकि त्यो सिकारकै कारण सबैको भागमा मासु परिरहेको हुन्थ्यो ।

सन् २०१६ मा अमेरिकी राष्ट्रपति उम्मेदवार हुँदा हिलारी क्लिन्टन उनको अधिकारमुखी अडानकै कारण यस्ता प्रवृत्तिको शिकार बनेकी हुन सक्छ । अपमानको बदला अपमानबाटै लिने प्रवृत्तिले पनि यस्तो ‘राम्रा मानिसले गर्ने अपमान’ अस्तित्वमा रहेको हो । फ्रान्सेली लेखक भोल्टेयरले भनेका थिए, सर्वोत्कृष्ट हुनु भनेको उत्कृष्टसँग दुश्मनी कमाउनु हो ।

उदार बन्नकै निम्ति क्रुरता

चलचित्र ‘ह्वीप्ल्यास’ मा एकजना संगीत शिक्षक छन् जो उनको विद्यार्थीमा महानता भर्नकै निम्ति क्रुर बाटो अपनाउँछन् । यस किसिमको रणनीतिमा हाम्रो समर्थन नहुन सक्ला । तै पनि जर्मनेली दार्शनिक फ्रेडरिक नित्सेले कुनै समय भनेका थिए, हामी आफैं पनि यस किसिमका क्रुरताबाट ग्रस्त भएका थियौं । नित्सेका हिसाबले क्रुरताले नै शिक्षकलाई कुनै अर्कै व्यक्तिको हितका लागि एउटाको विरुद्धमा अर्को उभ्याउन अनुमति दिन्छ ।

कुनै कुनै मानिस आफूले आदर्श ठानेको व्यक्तिजस्तै बन्ने बाटोमा लाग्दालाग्दै पत्तै नपाई स्वयंमाथि आफैंले क्रुरता गरिरहेको पनि हुनसक्छ । नित्सेलाई क्रुरता भोग्नु भनेको आफूमा साहस, धैर्यता र रचनात्मकता बढाउनु हो भन्ने लाग्छ । के हामीले पुण्य कमाउन अरू र आफैलाई पनि धेरै सास्ती दिने मार्गमा लैजानु उचित हो ?

पक्कै होइन । हामीले आज आएर थाहा पाएको ज्ञानले लामो समयसम्म क्रुरता भोग्नेले दीर्घकालीन असर बेहोर्नुपर्ने प्रष्ट्याइसकेको छ । त्यसैगरी मानिसको शारिरिक तथा मानसिक स्वास्थ्यलाई त्यसले ध्वस्त पनि पारिदिन सक्छ। आफूमाथि क्रुरता थोपर्नुको साटो स्वयंप्रति दयालु बन्नुले धेरै फाइदा गर्छ भन्ने मान्यता विकास भइरहेको छ ।

मान्छेको प्रगति वा उन्नतिका लागि दुःख पाउनै पर्छ भन्ने मान्यतामै आज प्रश्नवाचक चिह्न उभिइसकेको छ । अब आएर जीवनका सकारात्मक क्षण जस्तो कि कसैको प्रेममा डुब्नु, सन्तान सुख प्राप्त गर्नु र आफूले प्रेमपूर्वक सजाएका लक्ष्य प्राप्त गर्नु नै प्रगतिको द्योतक बनिसकेको छ ।

क्रुरताको माध्यमबाट शिक्षा दिनु भनेको त्यसले केवल शक्तिको दुरुपयोग र स्वार्थी परपीडन निम्त्याउनु मात्र हो । मानिसको जीवन क्रुर हुनसक्छ, कसै(कसैको सत्य निःसन्देह क्रुर भइदिन सक्छ, तर पनि हामी आफू क्रुर नहुने बाटो रोज्न स्वतन्त्र छौं ।

(बीबीसीका लागि सिमोन म्याकार्थी जोन्सले लेखेको स्टोरीको भावानुवाद । जोन्स डब्लिनस्थित ट्रिनिटी कलेजमा क्लिनिकल साइकोलोजी र न्यूरोसाइकोलोजी विषयकी एसोसिएट प्राध्यापक हुन्।)

प्रतिक्रिया दिनुहोस्