

फिदिम । पछिल्लो एक महिनायता कोरोना (कोभिड–१९) हटस्पट बनेको काठमाडौं उपत्यकामा संक्रमितको संख्या थामिने अवस्थामा छैन । दैनिक २ हजार भन्दा धेरै संक्रमित काठमाडौं उपत्यकामा निरन्तर थपिँदैछन् ।
उपत्यका तीन जिल्लामध्ये काठमाडौंमा चाहिँ कोरोना संक्रमणले डरलाग्दो रुप लिएको छ । भक्तपुर र ललितपुरमा २ देखि ४ सयको बीचमा संक्रमित थपिँदा काठमाडौंमा भने २ हजारको हाराहारीमा नयाँ संक्रमित बढिरहेका छन् ।
काठमाडौंमा तोकिएका पाटन, टेकु र बलम्बुस्थित कोभिड उपचार केन्द्र भरिभराउ भएका छन् । अर्कातिर वीर, शिक्षण, आयुर्वेद उपचार केन्द्र कीर्तिपुरसहितका लक्षणसहितका बिरामीको चाप दिन दिनै बढिरहेको छ ।
यस्तोमा पछिल्लो समयमा काठमाडौं जिल्लामा सक्रिय संक्रमितको संख्या पनि अपत्यारिलो तरिकाले निरन्तर उकालो लागिरहेको छ । दैनिक २ हजारभन्दा धेरैको दरमा संक्रमित थपिइँरहँदा काठमाडौं जिल्लामै देशभरको करिब आधा सक्रिय संक्रमित होम आइसोलेसन र अस्पतालमा रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार देशभर शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या ४६ हजार ९ सय ९१ पुगेको छ। यो भनेको अहिलेसम्म भेटिएका संक्रमितको ३० दशमलव ६ प्रतिशत हो ।
गौतमका अनुसार ६९.३ प्रतिशत अर्थात १ लाख ५ हजार ४ सय ८८ निको भएर घर गएका छन् । सरकारले हालसम्म १३ लाख ६७ हजार १६ पिसिआर परीक्षण गरेको छ ।
यस्तोमा देशभर अहिलेसम्म जम्मा पोजेटिभ संख्या १ लाख ५३ हजार ८ रहेको छ । पछिल्लो समय लक्षणसहितका संक्रमित बढेपछि निको हुने दर ६८.०९ प्रतिशतमा झरेको छ । जुन कुनै बेला ७४ प्रतिशत थियो ।
हालसम्म कोरोनाका कारण ८ सय २९ जनाले ज्यान गुमाएको गौतमले बताए । यसमा ठूलो संख्या उपत्यकामा ज्यान गुमाउनेको पनि छ । मन्त्रालयका अनुसार हालसम्म ३२ प्रतिशत अर्थात ४८ हजार ६ सय ६४ महिला संक्रमित भएका छन् । ६८ प्रतिशत अर्थात १ लाख ४ हजार ३ सय ४४ जना पुरुष संक्रमित भएका छन् ।
काठमाडौंको चित्र
गौतमका अनुसार शुक्रबारसम्म काठमाडौं जिल्लामा मात्रै २० हजार १ सय ९६ जना सक्रिय संक्रमित छन् । जसमा धेरै ठूलो संख्या घरमै रहेको छ । काठमाडौंमा १३२ जनाले ज्यान गुमाइसकेका छन् । काठमाडौं जिल्लामा मात्रै ५४ हजार २ सय ४५ लाई संक्रमण भएको छ । अहिलेसम्म यहाँ ३३ हजार ८ सय ६३ निको भएका छन् ।
भक्तपुरमा १३ सय ६५ जना सक्रिय संक्रमित छन् । जहाँ ३६ सय २९ जना निको भइसकेका छन् । अहिलेसम्म भक्तपुरमा ५४ जनाले ज्यान गुमाएका छन् । भक्तपुरमा शुक्रबारसम्म ५ हजार ४८ जना संक्रमित भेटिएका छन् ।
ललितपुरमा २५ सय ७४ जना सक्रिय संक्रमित छन् । हालसम्म त्यहाँ ४९ सय ३३ जनाले कोरोनालाई जितिसकेका छन् । हालसम्म ललितपुरमा ५३ जनाले ज्यान गुमाएका छन् । त्यहाँ अहिलेसम्म जम्मा ७५ सय ६० जनालाई संक्रमण भइसकेको छ ।
मन्त्रालयका अनुसार उपत्यकामा तीन जिल्लामा मात्रै २४ हजार एक सय ३५ जना सक्रिय संक्रमित रहेका छन् । यो भनेको देशभरका ४६ हजार ६ सय ९१ को आधाभन्दा धेरै अर्थात ५५ प्रतिशतभन्दा धेरै हो ।
आजको कुरा
काठमाडौं उपत्यकाका तीन जिल्लामा शुक्रबार २७ सय २० जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार काठमाडौं उपत्यकामा तीन जिल्लामा १६ सय २८ जना पुरुष र एक हजार ९२ जना महिलामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार काठमाडौं जिल्लाको होम आइसोलेसनमा १० हजार ५ सय १ जना छन् । त्यस्तै ललितपुरमा २८ सय ९४ जना र भक्तपुरमा १७ सय १९ जना संक्रमित घरमै रहेका छन् । (थाहाखवर डटकमबाट)