

फिदिम । भारतीय जासूसी संस्था रिसर्च एन्ड इन्टेलिजेन्स विङ्स (रअ) का प्रमुख सामन्तकुमार गोयल नेतृत्वको नौ सदस्यीय टोलीको एक दिने भ्रमणले नेपालको राजनीतिक वृत्त तरङ्गिित भएको छ।
बुधबार बिहान भारतीय वायु सेनाको विशेष विमानबाट काठमाडौं उत्रिएका गोयलले त्यही राति प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए। विमानस्थल ओर्लिएपछि पहिलो भेट ओलीसँगै गोयलले गरेको खुलेको छ। त्यसपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेताहरुसँग पनि भेट गरेको बताइए पनि यसको स्वतन्त्र पुष्टि भएको छैन। देउवाको सचिवालयले भने गोयलसँगको भेटलाई ठाडै अस्वीकार गरेको छ।
नेपालले भारतले मिचेको कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नयाँ नक्सा जारी गरेपछि त्यसविरुद्ध राजनीतिक अभिव्यक्ति दिएका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणेको नेपाल भ्रमणको पूर्वसन्ध्यामा भएको गोयलको राजनीतिक भेटघाटलाई अर्थपूर्ण मानिएको छ।
प्रधानमन्त्रीको सचिवालय
बालुवाटारमा भएको गोयल–प्रधानमन्त्री भेटघाटको पुष्टि प्रेस सल्लाहकार सूर्य थापाले पुष्टि गरेका छन्। उनले बुधबार भएको उक्त भेटघाटबारे बिहीबार एउटा प्रेस नोट जारी गरेका छन्। “भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ”, थापाले बुधबार भएको भेटबारे बिहीबार दिउँसो मात्रै ढिलो गरी जारी गरिएको प्रेस नोटमा भनिएको छ, “उहाँ भेटका लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो।”
भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार तथा प्रधानमन्त्री नरेन्द्र मोदीका एकजना विश्वासपात्र अजित डोभालको निर्देशन अुनसार चल्ने रअ प्रमुखसँगको भेटका क्रममा दुई देशबीचको मैत्री सम्बन्ध खलबलिन नदिने विषयमा पनि कुरा भएको दाबी थापाले गरेका छन्। “भेटका क्रममा उहाँले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खल्बलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राख्नु भयो” सामाजिक सञ्जालमा विवादास्पद टिप्पणी हुन थालेपछि थापाले जारी गरेको प्रेस नोटको अन्त्यमा भनिएको छ ।
नरवाने भ्रमणको पूर्वतयारी
गत जेठ २ गते नेपालबारे विवादित अभिव्यक्ति दिएपछि नेपालले भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणेको भ्रमण रोकिदिएको थियो। २०७६ फागुनमै तय भएको उनको नेपाल भ्रमण कोभिड-१९ संकट भन्दै रोकिँदै आएको थियो। नेपालले आफ्नो मिचिएको भूमि समेटेर नक्सा जारी गरेपछि नरावणेले उत्तरी छिमेकी चीनको इसारामा यो कदम चालिएको विवादित टिप्पणी गरेका थिए। त्यसपछि प्रधानमन्त्री ओलीले उनलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको पदवी नदिन पनि मौखिक निर्देशन सेनालाई दिएका थिए।
।
तर अहिले सम्बन्ध सुधारको नाममा नेपालले कात्तिक १८ गते आउन लागेका नरावणेलाई मानार्थ प्रधानसेनापतिको पदवी दिने निर्णय लिइसकेको छ। कात्तिक १८ गते नेपाल आएपछि नरावणेलाई नेपाली सेनाकी सर्वोच्च कमाण्ड राष्ट्पति विद्यादेवी भण्डारीले उक्त पदवी दिनेछिन्। “कोरोना संकटका कारण दुवै देशमा भएको लकडाउनका कारण स्थगित भारतका स्थल सेनाध्यक्ष जनरल नरावणेको नेपाल भ्रमण यही कात्तिक महिनामा हुने भएको छ”, सैनिक जनसम्पर्क निर्देशनालयले भनेको छ, “यस विषयमा नेपाल सरकार मन्त्रिपरिषद्ले २०७६ माघ २० मै आवश्यक निर्णय गरिसकेको छ ।”
भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नरावणेलाई नेपाली सेनाको मानार्थ महारथि दर्जा प्रदान गर्ने कार्यक्रम पनि तय भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
आलोचना
एउटा खुफिया संस्थाका प्रमुखलाई प्रधानमन्त्रीले सरकारी निवास बालुवाटारमै बोलाएर भेटेपछि अहिले यसको आलोचना भइरहेको छ। सत्ता पक्षदेखि प्रतिपक्षसम्मले सामान्त गोयललाई भेटेर प्रधानमन्त्री ओलीले आफ्नो असली राष्ट्रवाद प्रस्तुत गरेको भन्दै कटाक्ष गरेका छन्।
सत्तारुढ नेकपाकै सांसद तथा स्थायी कमिटी सदस्य भीम रावलले रअका प्रमुख सामन्तकुमार गोयललाई भेटेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन्।
रावलले प्रधानमन्त्रीको यस कदमलाई आपत्तिजनक र कुटनीतिक मर्यादा विपरीतको भनेका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विज्ञप्ति जारी गरेर गोयलसँग बुधवार राति भेट भएको पुष्टि गरेपछि रावलले कडा आपत्ति जनाएका हुन्।
“नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसँग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ”, उनले भनेका छन्, “यो कूटनीतिक मर्यादा विपरीत छ ।”
नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाविपरीत भारतीय गुप्तचर रअ प्रमुखसँग प्रधानमन्त्रीको वार्ता र भ्रमण आपत्तिजनक र कूटनीतिक मर्यादा विपरीत रहेको उनले बताए।
प्रचण्डले भेटेनन्
सत्तारुढ दलका एकजना अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई भेटेका गोयलले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटे नभेटेको खुलेको छैन । तर उनको सचिवालयले भने प्रचण्डसँग गोयलले भेट्दै नभेटेको तर्क गरेको छ। प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ुजुगलुले भेटबारे अस्वीकार गरेका छन्।
“प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट, बिहीबार मात्रै दिल्ली फर्कने” भनेर समाचार आएको भन्दै सापकोटाले त्यसलाई खारेज गरिदिएका छन्। “संवेदनशील बिषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्छु”, सापकोटाले भनेका छन्, “आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपील गर्दछु।”
माधवको तर्क
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पनि गोयलसँगको भेटलाई अस्वीकार गरेका छन्। पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालको सचिवालयले भारतीय गुप्तचर रअका प्रमुख गोयलसँग कुनै पनि किसिमको भेटघाट नभएको जिकिर गरेको छ।
बुधबार विशेष विमानबाट काठमाडौं ओर्लेपछि रअका प्रमुख गोयलले नेता नेपालसँग गोप्य भेटवार्ता गरेको समाचार आएको थियो। तर वरिष्ठ नेता नेपालका स्वकीय सचिव मोहन गौतमले गोयलसँगको भेटलाई ठाडै अस्वीकार गरेका छन्।
“गोयलसँग उहाँ (माधवकुमार नेपाल) को भेट भएको छैन, भेट्ने कार्यसूची पनि थिएन”, गौतमले भने, “वरिष्ठ नेता नेपाल बुधबार दिनभर अरु राजनीतिक कार्यक्रममा व्यस्त हुनुहुन्थ्यो।”
नेता नेपालले आफूनिकट नेताहरुसँग ओलीले एउटा देशको जासूसी संस्थाका प्रमुख भेटेर कूटनीतिक मर्यादा मिचेको बताएका छन्। प्रधानमन्त्रीको यस्तो कार्य राष्ट्रका लागि घातक हुने टिप्पणी उनले आफूनिकट नेताहरूसँग गरेका छन्।
नेकपाकै अर्का वरिष्ठ नेता झलनाथ खनालले ओलीको यस्तो कदम स्वीकार्न नसकिने बताएका छन्। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि रअ प्रमुखको नेपाल भ्रमणले अनेकन आशंका पैदा गरेको उल्लेख गरेका छन्।
उनले एउटा टोलीसहित जहाज चार्टर्ड गरेर जासूसी संस्थाको प्रमुख नेपाल आएर भेटघाट गर्नु सन्देहास्पद रहेको बताए। नेपालले कूटनीतिक माध्यमबाट नबोलाइ भएको यो भ्रमणलाई उनले अनेक कोणबाट शंका गर्न सकिने बताएका छन्। भ्रमण अनौपचारिक या औपचारिक के हो ? खुल्न नसकेको भन्दै श्रेष्ठले यसबाट अनेकन शंका उत्पन्न भएको टिप्पणी गरेका छन्। दलहरुबीच र सरकारले पनि यसबारे गम्भीर छलफल गर्नुपर्ने उनले बताएका छन्।
देउवाको सचिवालय भन्छः होइन
प्रमुख प्रतिपक्षी कांग्रेस सभापति देउवाले गोयललाई भेटेको समाचार आइरहेको छ। स्रोतले ठेउवासँग पनि गोयलको भेट भएको दाबी गरिरहेको छ। तर उनको सचिवालय पनि यो कुरा मान्न तयार छैन।
देउवाको सचिवालयले भारतीय गुप्तचर संस्था रअ प्रमुख गोयलसँग बुधबार र बिहीबार दुवै दिन भेटवार्ता नभएको जनाएको छ। गोयलले सत्तारुढ र प्रतिपक्ष नेताहरुलाई भेटेको चर्चा चलेपछि पूर्व प्रधानमन्त्री देउवाका निजी स्वकीय सचिव भानु देउवाले त्यसको खण्डन गरेका हुन्।
परराष्ट्रलाई थाहा छैन
यसैबीच परराष्ट्र मन्त्रालयले गोयलको भ्रमणबारे अनभिज्ञता प्रकट गरेको छ। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बुधबारै गोयलको भ्रमणबारे आधिकारिक कुनै विवरण प्राप्त नभएको बताएकी थिइन्।
गोयलको नेपाल भ्रमण परराष्ट्रको च्यानल मार्फत भन्दा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभाल र प्रधानमन्त्री केपी ओलीबीचको सीधा संवादपछि भएको बताइएको छ। नेपालका अधिकारीले पनि गोयलको भ्रमणलाई अनौपचारिक र व्यक्तिगत भनेका छन्। तर अनौपचारिक भ्रमणमा आएका गोयलले बुधबारै राति प्रधामन्त्री ओलीसँग दुई घण्टाभन्दा धेरै संवाद गरेका छन्।
जहाँ नेपालको पश्चिमी क्षेत्रमा देखिएको सीमा विवाददेखि कोरोना संकट र आपसी सम्बन्धबारे पनि दुई जनाबीच कुराकानी भएको थियो। ओलीसँगको संवादमा दुई देशबीचको सम्बन्ध बिग्रिन नदिने गरी अघि बढ्ने बारेमा छलफल भएको कुरा प्रेस सल्लाहकार थापाले नै पुष्टि गरेका छन्।
विशेष जहाज चार्टर्ड गरेर आएका गोयल बिहीबार भारत फर्किएका छन्। उनी बुधबार दिउँसो १ बजे काठमाडौं ओर्लिएका थिए। आठ घण्टे भनिएको भ्रमण लम्बिएपछि उनी बिहीबार मात्रै नयाँ दिल्ली फर्किएका छन्। (थाहा खवर डटकमबाट)