एकैदिन थप २१ जना कोरोना सङ्क्रमितको मृत्यु, मृतकको संख्याले ८०० नाघ्यो



फाइल तस्वीर ।

फिदिम । नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जना कोराना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोराना सङ्क्रमणबाट ज्यान गुमाउनेहरुको संख्या ८१२ पुगेको छ।

नेपालमा कोराना सङ्क्रमणबाट आईतबार १२, सोमबार १८, मङ्गलबार ८ तथा बुधबार २६ जनाले ज्यान गुमाएका थिए। नेपालमा कोरोनामुक्त एक मात्र जिल्ला मुस्ताङ्ग रहेको छ। काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, सुर्खेत, कास्की, दाङ, बाँके, कैलाली, रुपन्देही, मकवानपुर, काभ्रेपलाञ्चोक, झापा, सुनसरी र मोरङ जिल्लामा ५ सय भन्दा बढी सङ्क्रमित रहेका छन्।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानका थप तीन हजार ६३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै कुल सङ्क्रमितको संख्या एक लाख ४८ हजार ५०९ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

आजै तीन हजार २१५ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका प्रवक्ता गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यका जिल्लाहरु मध्ये काठमाडौँमा १२८३, भक्तपुरमा ११२, तथा ललितपुरका १५७ जनामा कोरोना संक्रमण देखिएको छ।

त्यस्तै, हाल नेपालमा ४४ हजार ८७७ जना सक्रिय सङ्क्रमित रहेका छन् भने एक लाख २ हजार ८२० जना निको भएका छन्। कोरोना भाइरसको संक्रमणबाट कुल ८१२ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्