
फिदिम । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानका थप तीन हजार ७९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै कुल सङ्क्रमितको संख्या एक लाख ३६ हजार ३६ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।
नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परिक्षण गर्दा पछिल्लो २४ घण्टामा तीन हजार ७९० जनामा सङ्क्रमण भेटिएको बताए । आजै दुई हजार ३३५ जना डिस्चार्ज भएको मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख गरिएको छ। त्यस्तै, हाल नेपालमा ४० हजार ७७८ जना सक्रिय सङ्क्रमित रहेका छन्।
नेपालमा कोरोनामुक्त एक मात्र जिल्ला मुस्ताङ्ग रहेको छ। काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, सुर्खेत, कास्की, दाङ, बाँके, रुपन्देही, मकवानपुर, सुनसरी र मोरङ जिल्लामा ५ सय भन्दा बढी सङ्क्रमित रहेका छन्। हालसम्म नेपालमा ९४ हजार ५०१ जना निको भएका छन् भने ७५७ जनाले ज्यान गुमाएका छन्।