फलैंचामा बोलेरो दुर्घटना हुँदा छ जना घाइते



पाँचथर, ३० असोज

पाँचथरको याङवरक गाउँपालिका वडा नं. २ फलैंचागढीमा बोलेर जिप दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार याङवरक–१ च्याङथापूबाट फिदिम आउँदै गरेको प्रदेश नं. १–०१–००१ च ७५२८ नम्वरको बोलेरो जिप आज विहान याङवरक–२ गढी भन्ने स्थानमा अचानक अनियन्त्रित भई सडकबाट करीब एक सय मिटर तल झरेर दुर्घटना भएको हो ।

दुर्घटनामा बोलेरो चालक याङवरक–२ का २२ वर्षीय डिल्ली अधिकारी सहित छ जना घाइते भएका छन् । गम्भीर अवस्थाका चालकको खुट्टा र टाउकोमा चोट लागेको प्रहरी जनाएको छ ।

दुर्घटनामा याङवरक–२ का दीपक प्याकुरेल, सोही स्थानकी सुस्मा बेघा लिम्बू, झापाको वुद्धशान्ति गाउँपालिका–३ का पुष्प खनाल, ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–३ का शेरबहादुर चौहान र झापाको मेचीनगर नगरपालिका–१४ का विष्णुप्रसाद ओली घाइते भएको प्रहरी जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएकामा केही घाइतेहरुलाई थप उपचारका लागि झापा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्