जबरजस्ती करणी मुद्दाका अभियुक्त पक्राउ गर्ने महिला प्रहरी जवानलाई एक लाख पुरस्कार



फिदिम । प्रदेश नम्बर १ प्रहरी कार्यालयले जबरजस्ती करणी मुद्दा अभियुक्त पक्राउ गर्ने महिला प्रहरी जवानलाई एक लाख रुपैयाँ राशीको पुरस्कारले सम्मान गरेको छ।

‘साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार’बाट प्रहरी जवान सविना खत्रीलाई पुरस्कृत गरिएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ । प्रदेशभरिबाट उत्कृष्ट कार्य गरेको मूल्यांकन गरी प्रहरी चौकी पोक्लाबुङ तेह्रथुम दरबन्दी भई इलाका प्रहरी कार्यालय वसन्तपुरमा कार्यरत् प्रहरी जवान खत्रीलाई शुक्रबार ६५ औं प्रहरी दिवसका अवसरमा उक्त पुरस्कार दिइएको हो।

जवान खत्रीले जबरजस्ती करणीजस्तो जघन्य अपराधको घटना घटाएर फरार रहेका अभियुक्तलाई कानुनी दायरामा ल्याउन सफल भएर नागरिकसमक्ष प्रहरीको छवि उच्च बनाएको प्रदेश प्रहरीले जनाएको छ।

२०७६ सालमा तत्कालीन इलाका प्रहरी कार्यालय दिङला, भोजपुरमा कार्यरत् रहँदा प्रहरी जवान खत्रीले उक्त काम गरेको प्रदेश प्रहरीले जनायो। “विभागीय मूल्य(मान्यता, आदेश–निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य निर्वाह गरेको मूल्यांकनसाथ पुरस्कृत उनलाई पुरस्कृत गरिएको हो” प्रदेश १ का प्रहरी नायब महानिरीक्षक ईश्वरबाबु कार्कीले भने।

वर्षभरिमा उत्कृष्ट ठहरिएका प्रहरी कर्मचारीहरूमध्येबाट साहसिक एवम् चुनौतीपूर्ण कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रत्येक वर्ष प्रहरी दिवसको अवसरमा पुरस्कार दिइने गरिएको छ। प्रहरी जवान खत्रीलाई साधनादेवी उत्कृष्ट प्रहरी पराक्रम पुरस्कार कोषका संस्थापक प्रा.डा. विक्रमप्रसाद श्रेष्ठले एक लाख नगदको चेक तथा प्रशंसा–पत्र प्रदान गरे।

प्रहरी जवान तथा अधिकृतहरूको मनोबल उच्च राख्नेलाई साधना देवी पराक्रम पुरस्कार दिइने गरिएको कार्कीले बताए। पुरस्कृत हुने प्रहरी जवान खत्रीले आफूलाई ठूलो सम्मान भएको र यसले अझ बढी जिम्मेवार भएर आफ्नो दायित्व निर्वाह गर्न प्रेरणा मिलेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्