कोरोना सङ्क्रमणका कारण थप २१ जना मृत्यु, मृतकको संख्या ७०० नाघ्यो



फिदिम । नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जना कोराना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोराना सङ्क्रमणबाट ज्यान गुमाउनेहरुको संख्या ७१५ पुगेको छ।

नेपालमा कोराना सङ्क्रमणबाट आईतबार २२, सोमबार ९, मङ्गलबार १८, बुधबार १२ तथा १९ जनाले ज्यान गुमाएका थिए। त्यस्तै, पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानका थप चार हजार ३९२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै कुल सङ्क्रमितको संख्या एक लाख २६ हजार १३७ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यका जिल्लाहरु काठमाडौँमा १७८४, भक्तपुरमा २४४, तथा ललितपुरका ३७४ जनामा कोरोना संक्रमण देखिएको छ।

आजै तीन हजार ५२२ जना डिस्चार्ज भएको मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख गरिएको छ। त्यस्तै, हाल नेपालमा ३७ हजार ३८२ जना सक्रिय सङ्क्रमित रहेका छन्। काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, सुर्खेत, दाङ्ग, बाँके, रुपन्देही, मकवानपुर, सुनसरी र मोरङ जिल्लामा ५ सय भन्दा बढी सङ्क्रमित रहेका छन्। हालसम्म नेपालमा ८८ हजार ४० जना निको भएका छन् भने ७१५ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्