बाल संगठनको जिल्ला सभापतिमा कृष्ण ओझा



पाँचथर । अग्रज पत्रकार एवम् मानवअधिकारकर्मी कृष्ण ओझा नेपाल बाल संगठन जिल्ला कार्यसमिति पाँचथरको सभापतिमा मनोनित हुनुभएको छ ।

नेपाल बाल संगठनको असोज २० मा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले फिदिम नगरपालिका वडा नं. २ निवासी ओझालाई जिल्ला कार्यसमितिको सभापतिमा मनोनित गरेको हो । केन्द्रीय कार्यसमितिले जिल्लाको पुरानो कार्यसमिति भङ्ग गर्दै ओझाको सभापतित्वमा तदर्थ कार्यसमिति गठन गरेको जनाएको छ ।

संगठनको केन्द्रीय कार्यसमितिले ओझालाई सभापतिमा नियुक्त गर्दै संगठनको कार्यविधिअनुसार बालबालिकाका क्षेत्रमा गतिविधि गर्दै नेपाल बाल संगठनको चलअचल सम्पत्ति अभिलेखिकरण र संरक्षण गर्न, संरक्षणविहीन बालबालिकाको साहरा बन्ने कार्यको अगुवाई गर्न आग्रह गरेको छ ।

ओझा जिल्लामा लामो समयदेखि पत्रकारिता र मानवअधिकारको क्षेत्रमा अनवरत रुपमा क्रियाशील हुनुहुन्छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)मा १५ वर्षसम्म काम गर्नुभएका ओझाले मानवअधिकारको रक्षा र प्रवद्र्धन, मानवअधिकार उल्लङ्घनका घटनाहरुको अभिलेखिकरण, विश्लेषण तथा रिपोर्टिङमा लामो समय खर्चनुभएको थियो । उहाँ २०५३ सालदेखि मानवअधिकारको क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।

सशस्त्र द्वन्द्व तथा राजाको प्रत्यक्ष शासनको समयमा मानवअधिकारको रक्षा तथा ब्यक्ति हत्या रोक्न साहसिक रुपमा क्रियाशील ओझा त्यसपछिका विभिन्न आन्दोलनहरुमा समेत मानवअधिकारको रक्षामा निरन्तर क्रियाशील हुँदै आउनुभएको छ । यस क्रममा उहाँमाथि भौतिक आक्रमण समेत भएका थिए । हुकोडेक नेपाल सहित विभिन्न संस्थामा आवद्ध हुँदै उहाँले बालअधिकारका क्षेत्रमा निरन्तर काम गर्दै आउनुभएको छ ।

वि.सं. २०४७ सालदेखि पत्रकारितामा पेशामा आवद्ध ओझा हालसम्म समेत पत्रकारितामा क्रियाशील हुनुहुन्छ । उहाँ शसस्त्र द्वन्द्वकाल चलिरहेकै समयमा नेपाल पत्रकार महासंघ पाँचथर शाखाको एक कार्यकाल सभापति रहि जिल्लामा पत्रकार महासंघको संस्थागत विकास तथा पत्रकारहरुको हित सम्वद्र्धनमा योगदान पु¥याउनुभएको थियो ।

यस्तै साँस्कृतिक क्षेत्रमा ओझाको परिचय अझै बलियो छ । तत्कालीन नेकपा (एमाले) सम्वद्ध राष्ट्रिय जनसाँस्कृतिक महासंघमा आवद्ध भई जनकलाकारको रुपमा ओझाले २०४६ सालदेखि ०५७ सालसम्म जिल्लाका गाउँ–गाउँमा साँस्कृतिक क्षेत्रबाट परिवर्तनको चेतना, लोकतान्त्रिक ब्यवस्था स्थापना तथा कम्युनिष्ट जनमत निर्माण गर्ने कार्यमा भूमिका खेल्नुभएको थियो ।

उहाँ बुवा डाकप्रसाद ओझा र आमा छलमाया ओझाको साइलो सुपुत्रको रुपमा २०२६ साल जेठ ८ गते फिदिममा जन्मनुभएको हो । तीन दशकदेखि मानवअधिकार, पत्रकारिता, साँस्कृतिक अभियानमा क्रियाशील ओझाको योगदानको मूल्याङ्कन गर्दै मानवअधिकार, बालअधिकार, शान्ति, पत्रकारिता, जनसाँस्कृतिक लगायत क्षेत्रका दर्जनौँ सरकारी निकाय तथा संघ संस्थाहरुले सम्मान समेत गरिसकेका छन् ।

तत्कालीन नेकपा (एमाले) पाँचथर जिल्ला कमिटीको सदस्य भइसक्नु भएका ओझा हाल प्रेस संगठन नेपालको प्रदेश कमिटी सदस्य तथा नेपाल पत्रकार महासंघको प्रदेश पाषर्द समेत रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्