नेपालमा सङ्क्रमितको संख्या एक लाख पुग्दा छ सय जनाको मृत्यु, दैनिक सङ्क्रमण दर उच्च



फिदिम । नेपालमा कोभिड–१९ का सङ्क्रमितको संख्या एक लाख नाघेको छ । दैनिक दुईदेखि चार हजारसम्म सङ्क्रमित थपिँदा पछिल्ला दुई हप्तामै सङ्क्रमितको संख्या यो अवस्थामा आइपुगेको हो । नेपालमा सङ्क्रमितको संख्या एक लाख पुग्दा मृत्यु हुनेको संख्या छ सय पुगेको छ भने दैनिक सङ्क्रमण दर उच्च हुँदै गएको छ ।

आज नेपालमा एकैदिन २ हजार ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १४०९ जना रहेका छन् । काठमाडौँमा १ हजार ११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जना सक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख नाघेको हो । नेपालमा हालसम्म १ लाख ६७६ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको जानकारी दिनुभयो ।

यसैगरी आज संस्थागत आइसोलेशनमा ११ हजार १७६ जना र होम आइसोलेशनमा १५ हजार ८७७ जना रहेका छन् । हाल ३१८ जना आइसीयूमा उपचाररत छन् भने ७५ जना भेन्टिलेटरमा छन् । पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । योसँगै मृत्तकको संख्या ६ सय पुगेको छ । नेपालमा मृत्युदर ०.६ रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६८० जना कोरोनाभाइरसको संक्रमणबाट मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ७३ हजार २३ पुगेको छ । नेपालमा कोरोना जितेर डिस्चार्ज हुने प्रतिशत ७२.५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्