नयाँ नेपाल निर्माणमा गैरआवासीय नेपालीको भूमिका आवश्यक छः मन्त्री नेम्वाङ



काठमाण्डौँ । भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङले गैरआवासीय नेपालीहरुसंग भएको ज्ञान, शीप र प्रविधि नयाँ नेपाल निर्माणमा लगाउन आग्रह गर्नु भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले शुक्रबार आयोजना गरेको दोस्रो विश्वज्ञान सम्मेलनको ‘भौतिक पूर्वाधार विकास’ विषयक सेसनलाई सम्बोधन गर्दै उहाँले संसारभर रहेका गैरआवासीय नेपालीहरुलाई यस्तो आग्रह गर्नु भएको हो ।

उहाँले नेपाल अहिले कम विकसित देशको सूचिमा रहेपनि भौतिक पूर्वाधार निर्माणमा ठूलो परिमाणमा लगानी सुनिश्चित गरी मध्यम आय भएको मुलुकको रुपमा स्थापित हुने लक्ष्य लिइएको बताउनु भयो ।

“नेपालले सन् २०२२ सम्ममा कम विकसित मुलुकको सूचिबाट माथि उठाउने, सन् २०३० सम्ममा दीगो विकासको लक्ष्यहरु हासिल गर्ने र सन् २०३० सम्ममा नेपाल मध्यम आय भएको देशको रुपमा विकास गर्ने लक्ष्य लिइएको छ”, मन्त्री नेम्वाङले भन्नुभयो ।

मन्त्री नेम्वाङले भौतिक पूर्वाधारका नयाँ–नयाँ क्षेत्रलाई अगाडी बढाइएको उल्लेख गर्दै रेल, सुरुङमार्ग र मेट्रोरेलले गति लिने उल्लेख गर्नुभयो । उहाँले सरकार व्यवस्थित, सुरक्षित र सुविधा सम्पन्न शहर विकास गर्न लागेको उल्लेख गर्नुभयो ।

“नयाँ शहर २७ ओटा, स्मार्ट सिटी १५ ओटा, हिमाली शहर ५ ओटा र सघन सहरी विकास कार्यक्रम २० ओटा शहरमा सञ्चालित छ । अन्य शहरलाई थप व्यवस्थि तगर्न एक शहर एक पहिचानको कार्यक्रम समेत अगाड बढाईएको छ” मन्त्री नेम्वाङले भन्नुभयो ।

देशको संघीय राजधानी काठमाण्डौ सम्पदाको हिसावले विश्वकै विशेष रहेको भन्दै उहाँको साँस्कृतिक सम्पदा जोगाई राख्न उपत्यकामा चार ओटा उपशहर निर्माण गर्न लागिएको उल्लेख गर्नु भयो । कार्यक्रममा आधा दर्जन विज्ञहरुले भौतिक पूर्वाधार विकासको विभिन्न क्षेत्र समेटेर कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्