

फिदिम । गीतकार, कलाकार तथा सामाजिक अभियन्ता भूमिका सुब्बाको नयाँ गीत ‘बनचरी’ सार्वजनकि भएको छ । उक्त गीत ओएसआर डिजिटल युट्युब च्यालनबाट बिहीबार रिलिज गरिएको हो ।
गीतमा नारीको जीवन यात्रालाई समेटिएको छ । छोरीले जन्मदिने आमाप्रति दर्शाउने अगाध प्रेम र माइती गाउँको ‘नोस्टाल्जिया’ गीतमा प्रस्तुत गरिएको गीतकार सुब्बाले बताउनुभयो ।
चर्चित गायिका एलिना चौहानको स्वरमा सजिएको यो गीतमा पछिल्लो समय म्युजिक भिडियोमा सर्वाधिक रुचाईका कलाकार लक्ष्मी बर्देवाले जीवन्त अभिनय गर्नुभएको छ। उनलाई आमाको रुपमा अञ्जु देउजाले साथ दिनुभएको छ ।
साजन राईको संगीत रहेको यस भिडियोको किरण चाम्लिङ राईले निर्देशन गर्नुभएको हो । बीजू कर्मचार्यले एरेन्ज गरेको यो गीत भर्जिन भ्वाइस स्टुडियोमा रेकर्ड गरिएको हो । भूपेन्द्र तुम्बाहाङ्गफेले छायाङ्कन गरेको भिडियोमा काठमाण्डौँ उपत्यका छेउछाउँका ग्रामीण दृष्यहरु समेटिएका छन् ।
चाडपर्व नजिकिदै गर्दा एउटी छोरीले माइती गाउँ र जन्मदिने आमा सम्झिएर बनचरी जस्तै स्वतन्त्र भइ आमालाई भेट्न माइतीघर जाने भाव इच्छा गीतमा अभिव्यक्त भएको संगीतकार साजन राईले बताउनुभयो ।

सुब्बा आफैँ गायिका समेत हुनुहुन्छ । उहाँका मालिङ्गो सैसै, भूमिका र संगिनी तीन ओटा सोलो एल्बम रहेका छन् भने आधा दर्जन भन्दा बढी सयुक्त गीतिसंग्रह बजारमा आएका छन् । बाल्यकालबाटै कलाकारिता क्षेत्रमा लागेकी सुब्बाको खास गरी जनवादी गायिकाको रुपमा फराकिलो परिचय रहेको छ । पछिल्लो समय उहाँ गीत लेखनमा लाग्नुभएको हो, त्यसैको निरन्तरता हो ‘बनचरी’ ।
सुब्बा राष्ट्रिय जनसाँस्कृतिक महासंघको केन्द्रीय कोषाध्यक्ष, समृद्ध पाँचथरको अध्यक्ष लगायत विभिन्न राजनीतिक, सामाजिक संघ संस्थामा आवद्ध हुनुहुन्छ ।
हेर्नुहोस् भिडियो …