‘कोरोनालाई सामान्य ठानी भीडभाड गर्दा धेरैजना संक्रमित भए’



पछिल्ला दिनमा काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमणदर ह्वात्तै बढ्दा जनजीवन जोखिममा परेको छ। पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंका तीन जिल्लामा मात्रै एक हजार ६ सय ३८ जना नयाँ संक्रमित भेटिएका छन्। शुक्रबार नेपालमा एकैदिन दुई हजार सात सय २२ जनामा कोरोना भाइरस (कोभिड–१९ संक्रमण पुष्टि भएको छ। यो संख्या अहिलेसम्मकै धेरै हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या ८२ हजार चार सय ५० पुगेको छ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २ सय ३४ रहेको छ। नेपालमा एकातिर कोरोनाको संक्रमण बढ्दै गएको छ भने अर्कातिर लक्षणसहित गम्भीर अवस्थामा पुगेका संक्रमितले अस्पतालका आइसीयु र भेन्टिलेटर भरिँदैछन्। संक्रमित बढ्दै जाँदा उपत्यका ठूला अस्पतालका आइसीयु भेन्टिलेटरहरू भरिएका छन्। अर्कोतर्फ कोरोना बाहेकका बिरामीहरूको संख्या पनि अस्पतालमा थपिँदै जाँदा उपचारमा चुनौती थपिइरहेको छ। कतिपय बिरामी त कोरोनाको त्रासले अरू कुनै रोग लागे पनि जँचाउन जान आनाकानी गरिरहेका छन्‌।

सिजन परिवर्तन हुने अहिलेको समयमै नेपालमा धेरै मानिसलाई मौसमी रुघाखोकी, ज्वरो र अन्य स्वास्थ्य(समस्या देखिने गर्छ। यस्तो अवस्थामा आफ्नो स्वास्थ्यको ख्याल कसरी गर्ने र उपचारको लागि कसरी सहज पहुँच पुर्‍याउन सकिएला भन्ने विषयमा कोभिड संक्रमितको उपचार गर्दै आएका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका सह(प्राध्यापक एवं वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बमसँग थाहाकर्मी सविना खनालले गरेको कुराकानीको सम्पादित अंशः

पछिल्लो समय उपत्यकामा कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिएको छ, स्थिति भयावह हुन नदिन के गर्नुपर्ला ?

– लामो समयसम्म लकडाउनमा परेर घरभित्र रहेका मानिसहरू जनस्वास्थ्यका आधारभूत मापदण्ड पालन नगरी घरबाहिर निस्कँदा नै अहिले उपत्यकामा संक्रमण फैलिएको हो। अर्कातर्फ टेस्ट र ट्रेसिङ पनि अलि ढिलामात्रै थालियो। विभिन्न मापदण्डहरू पनि खुकुलो गराउँदै पूरै खुला छोडियो। जसले गर्दा संक्रमण बढ्दै गएको बेला पनि उपत्यकामा चल्ने सवारी साधनहरू सधै खचाखच छन्, जसले गर्दा उपत्यकामा संक्रमण बढ्दै गएको छ।

त्यसैले, यसलाई हामी सबैले गम्भीरताका साथ लिनुपर्छ र स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाउनु पर्छ। सरकारले गरिरहेको प्रयासमा सबैले साथ दिनुपर्छ। नागरिकहरू आफैँ सतर्क र सचेत हुन जरुरी छ। अस्पताल र स्वास्थ्यकर्मीहरूलाई सहयोग गर्नुपर्छ। आत्तिन हुँदैन र हेल्चेक्रयाइँ पनि गर्नु भएन।​

कोरोना संक्रमण बाहेकका अन्य बिरामीहरूको अवस्था कस्तो छ ? सामान्य बिरामी हुँदा पनि कोरोना नै भएको हुनसक्ने या अस्पतालमा जाँदा भीडभाडमै संक्रमित हुने डरले मानिसहरू जँचाउन गइरहेका छैनन्‌‌, यही डरका कारण रोगका बिरामीका बढ्दै गएका हुन्‌ ?

– अवश्य पनि कोभिडले संक्रमणले गर्दा हाल ुनन् कोभिडुका बिरामी, खासगरी क्यान्सर, मिर्गौला र मधुमेहजस्ता दीर्घरोग भएकाहरू, गर्भवती, दम तथा निमोनिया क्षयरोग जस्ता संक्रमण भएकाहरू, जो नियमित रूपमा चिकित्सको निगरानीमा बस्नुपर्ने हुन्छः त्यस्ता बिरामीहरू पनि उचित उपचार पाउनबाट बञ्‍चित भएका छन्। हाल शिक्षण अस्पतालजस्ता गरीबहरूको उपचार गरिने अस्पतालहरूमा नै कोभिडका बिरामीहरू छन्। जसले गर्दा पनि अन्य बिरामीले उपचार पाउन सकेका छैनन्।

अर्को महत्वपुर्ण कुराः नेपालमा असोज कार्तिकका बेला मौसम परिवर्तन हुन्छ। यतिखेरको मौसममा फ्लुका बिरामी बढ्छन्‌। बर्खाको समय सकिएसँगै रुघाखोकी, ज्वरो र टाइफाइडका बिरामीहरू बढ्ने अघिल्ला वर्षहरूको तथ्याङ्ले पुष्टि गर्दछ। झन्‌ यो वर्ष त कोरोना भाइरस संक्रमणसँगै मृत्युदर बढेको छ। यस्तो समयमा हामीले थप सतर्कता अपनाउनुपर्छ। अहिले ‘नन्‌ कोभिड’मा बिरामी गम्भीर अवस्थामा परे आइसीयु पाउनै मुस्किल छ। अहिले उपत्यका ठूला अस्पतालका आइसीयु खचाखच भरिएको छ। अहिले कोभिड मात्रै हैन, ननकोभिडका बिरामीले पनि ज्यान गुमाउनु परेको छ।

अब के गर्ने त ?

– हामीसँग प्रशस्त समय थियो। हामीले संक्रमणका हालसम्म सात महिना गुजारिसकेका छौं। यो बेलामा सरकारले सातै प्रदेशमा कोभिड सम्बन्धी आइसीयु र भेन्टिलेटर सहितको केन्द्रीय अस्पताल बनाउनुपर्ने थियो। भविष्यमा संक्रामक अन्य रोगका उपचार गर्न पनि यो अस्पतालमा प्रयोग ल्याउन सकिन्थ्यो। ​

यतिखेर सक्रिय संक्रमितको संख्या २१र २२ हजार पुगिसकेको छ। अझै यसमध्ये निजीमा उपचार गराइरहेका संक्रमित गणनामा आएका छैनन्। अब अझैए गुणात्मक रूपमा संक्रमण बढ्दै जाने हुँदा हरेक इन्डिकेटरमा नयाँ रेकर्ड बन्न थाल्छ। यही अवस्थामा रहे दैनिक रूपमा दैनिक पाँच हजारभन्दा धेरै मानिस संक्रमित हुन सक्छन्‌। अझै मूख्य कुरा त हाम्रोमा हाम्रा ठूला पर्वहरू नजिक आएकाले पनि भीडभाड बढाउने हुँदा संक्रमण बढ्दै जान्छ।

पछिल्लो समयमा देखिएका संक्रमितमा देखिने लक्षण र उनीहरूको अवस्था कस्तो छ त ?

– पहिला देखिएका संक्रमितको तुलनामा अहिले देखिएका संक्रमितहरूमा धेरै लक्षण देखिएका छन्‌। पछिल्लो समय हरेक १०० जना कोभिड संक्रमितमध्ये ३० जनालाई लक्षण देखिएको छ।धेरैमा रुघाखोकी ज्वरो देखिने परीक्षण गर्दा कोभिड पुष्टि भएका छन्। केही संक्रमितमा त एकदमै छिट्टै निमोनिया देखिन थालेको छ, जसले गर्दा संक्रमितलाई एकदमै चाँढै आइसीयुमा राख्नुपर्ने र गम्भीर अवस्थामा जाने संक्रमित बढेका छन्। जसरी अहिले संक्रमित बढेका छन्, त्यसरी नै लक्षण भएका संक्रमित भएका बढेका छन्।

स्वयं स्वास्थ्यकर्मी नै धेरै संक्रमित भएका छन्‌, सेवा प्रभावित हुन्छ कि हुन्न ?

– स्वास्थ्यसम्बन्धी कुनैपनि महामारीलाई हामी स्वास्थ्यकर्मीले युद्धको रूपमा लिने गर्छौं। र युद्ध जित्न जसरी अन्तिम समयसम्म लडिन्छ ? त्यसरी नै हामी लडिरहेका छौं। तथापि, सरकारी तवरबाट गर्नुपर्ने कतिपय कामहरूमा अलि ढिलासुस्ती हुँदा काम गर्न कठिन हुने गरेको छ। यस्ता स्वास्थ्यसम्बन्धी महामारीमा सबैभन्दा बढी प्रभावित हुने भनेको स्वास्थ्यकर्मी, सेना र प्रहरी हो। जसले गर्दा यसले संक्रमण झन् छिटो फैलने जोखिम हुन्छ किनकी, यस्ता व्यक्तिहरू थोरै समयमा धेरै मानिसको संक्रमणमा पुगेका हुन्छन्।

यस्तै, स्वास्थ्यकर्मीमा संक्रमण हुँदा भोली स्वास्थ्य सेवामा नै असर गर्न सक्छ। जस्तो हाल हाम्रो शिक्षण अस्पतालमा कार्यरत चिकित्सक तथा नर्सहरू संक्रमित भइरहँदा हामीले अहिले विद्यार्थी नर्सलाई ल्याएर काम गराउनु पर्ने बाध्यता छ। त्यसैगरी कोभिड र नन कोभिड अस्पतालहरू अलग अलग गर्न नसक्दा स्वास्थ्यकर्मी बढी संक्रमित भएका हुन्‌। एउटै अस्पतालबाट दुईवटै सेवा दिनेभन्दा अस्पताल नै अलग बनाउनु पर्ने हो। त्यो भएको छैन। केन्द्रीय कोभिड अस्पतालहरू अस्थायी रूपमा बनाउनुपर्ने अवस्था छ।

प्रदेशहरूमा पनि आइसोलेसन र भेन्टिलेटरसहितका नयाँ र ठूला अस्पताल बनाउन जरुरी छ। चीनमा एक हप्तामा एक हजार बेडको आइसीयुसहितको अस्पताल बनाएको उदाहरण हामी सबैलाई थाहा छ। इटलीमा एउटै अस्पतालमा सबै सेवा उपलब्ध हुँदा संक्रमण फैलिएको दृष्टान्त पनि हामीले बिर्सन हुँदैन। त्यसैले स्वास्थ्यकर्मीको खटाइले मात्र पुग्दैन, नीति र कार्ययोजना सही हुनुपर्छ। खटिएका स्वास्थ्यकर्मीहरूको काममा कुनै शंका गर्नुपर्ने अवस्था छैन। (थाहाखवर डटकमबाट साभार)

प्रतिक्रिया दिनुहोस्