शुक्रवार कोरोनाको नयाँ रेकर्डः २७२२ सङ्क्रमित थपिए, ३३०७ जना डिस्चार्ज भए



फिदिम । शुक्रवार नेपालमा कोभिड–१९ को नयाँ रेकर्ड कायम भएको छ । आज एकैदिन हालसम्मकै उच्च संख्यामा सङ्क्रमित फेला पर्नुका साथै हालसम्मकै बढी डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानका थप दुई हजार ७२२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै कुल सङ्क्रमितको संख्या ८२ हजार ४५० जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा .जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परिक्षण गर्दा पछिल्लो २४ घण्टामा दुई हजार ७२२ जनामा सङ्क्रमण भेटिएको बताए । आजै तीन हजार ३०७ जना डिस्चार्ज भएको मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख गरिएको छ। त्यस्तै, हाल नेपालमा २१ हजार २३४ जना सक्रिय सङ्क्रमित रहेका छन्।

नेपालका ३ जिल्लाहरु मुस्ताङ्ग, मनाङ्ग, र डोल्पा अहिले कोरोना संक्रमित छैनन् । त्यस्तै, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, रुपन्देही, सिराहा, र मोरङ ५ सय भन्दा बढी सङ्क्रमित रहेका छन्। हालसम्म नेपालमा ६० हजार ६९६ जना निको भएका छन् भने ५२० जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्