मुख्य पर्वहरु अघि नै यातायात ब्यवस्था सहज हुन्छः मन्त्री नेम्वाङ



फिदिम । भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री वसन्तकुमार नेम्वाङले दशैँ तिहार लगायत मुख्य चाड पर्वहरु अघि नै सार्वजनिक यातायात ब्यवस्थालाई सहज बनाइने वताउनुभएको छ ।

शुक्रबार संघीय संसद अन्तर्गत विकास तथा प्रविधि समितिले आयोजना गरेको छलफलमा सासदहरुले उठाएको प्रश्नको जवाफ दिदै मन्त्री नेम्वाङले विश्वव्यापी कोरोना महामारी र भारीबर्षाका कारण विभिन्न राजमार्ग तथा पुलहरुमा क्षति पुग्दा सार्वजनिक यातायात सञ्चालनमा कठिनाई भएपनि नेपालीहरुको ठूला चाडपर्व दशैतिहार अगावै सहज भइसक्ने उल्लेख गर्नु भएको हो ।

उहाँले प्राकृतिक विपतलाई रोक्न नसकिएपनि त्यसको व्यवस्थापनमा मन्त्रालय तदारुकताका साथ लागेको उल्लेख गर्नु भयो । नेम्वाङले भन्नुभयो ‘भारी बर्षाका कारण बाटोमा क्षति पुगेको छ । राजमार्गहरु निर्वाध रुपमा सञ्चालन गर्नका लागि मन्त्रालयले चौविसै घण्टा काम गर्ने योजना बनाएको छ । २ सय ५० भन्दा बढी स्थानमा निर्माण उपकरण राखेर बाटो सोहोर्ने, पहिरो पन्छाउने काम भइरहेको छ ।’

मन्त्री नेम्वाङले बढ्दो कोरोना संक्रमणबीच अस्तव्यस्त अर्थतन्त्रलाई चलायमान गर्न स्वास्थ्य मापदण्ड पालना गर्दै लामो, मध्यम र छोटो दुरीको सवारी साधन खुल्ला गरिएको प्रष्ट पानुभयो । सरकारले कडाईका साथ निर्णय गरेर मात्र नहुने उल्लेख गर्दै उहाँले सेवाग्राही, व्यवसायी सरोकारवाला सबै अनुशासित भएर लाग्नु पर्ने उल्लेख गर्नुु भयो ।

उहाँले हवाई उडान पूर्ण सीट क्षमतामा सञ्चालन भएको र सरोकारवालाहरुबाट गुनासो समेत आएकाले सार्वजनिक यातायात सञ्चालन मापदण्ड संशोधनका लागि कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) मा प्रस्ताव पेश गरिएको समेत उल्लेख गर्नु भयो ।

मन्त्री नेम्वाङले मापदण्ड संशोधन भएर आएपछि भने स्वास्थ्य मापदण्ड अपनाउँदै सार्वजनिक यातायात सामान्य अवस्थामै सञ्चालन हुने बताउनु भयो । त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालायका सचिव देवेन्द्र कार्कीले भारी बर्षाका बाबजुद पनि देशभरको सडकको अवस्था राम्रो रहेको बताउनु भयो ।

मन्त्री नेम्वाङले भन्नुभयो, ‘हाम्रो मातहत रहेका सडकहरुको अवस्था राम्रै छ । ग्रामिण सडकहरुका अवस्था अलि नाजुक छ । ग्रामिण सडकहरुको मर्मत सम्भार स्थानीय तह तथा प्रदेश सरकारको जीम्मामा भएपनि हामीले समेत गरिरहेका छौ ।’ त्यस्तै सडक विभागका महानिर्देशक केशवकुमार शर्माले प्राकृतिक प्रकोपका कारण अवरुद्ध सडक रातभरी काम गरेर भएपनि सुचारु गरिएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्