नेपालमा कोरोना सङ्क्रमितको संख्याले ८० हजार नाघ्यो, ६० हजार बढी निको



फिदिम । नेपालमा कोरोना सङ्क्रमितको कुल संख्याले ८० हजार नाघेको छ। त्यस्तै, निको हुनेको संख्या पनि ६० हजार बढी पुगेको छ।

नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार हालसम्म नेपालमा ८२ हजार ४५० व्यक्ति कोरोना सङ्क्रमित भएका छन् । त्यस्तै, सङ्क्रमितमध्ये ६० हजार ६९६ निको भएर घर फर्केका छन् ।

नेपालका ३ जिल्लाहरु मुस्ताङ्ग, मनाङ्ग, र डोल्पा अहिले कोरोना संक्रमित छैनन् । त्यस्तै, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, रुपन्देही, सिराहा, र मोरङ ५ सय भन्दा बढी सङ्क्रमित रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानका थप दुई हजार ७२२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै कुल सङ्क्रमितको संख्या ८२ हजार ४५० जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जना कोराना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोराना सङ्क्रमणबाट ज्यान गुमाउनेहरुको संख्या ५२० पुगेको छ।

सोहि अवधिमा काठमाडौँ उपत्यका जिल्लाहरु काठमाडौँमा १२८०, भक्तपुरमा १९६, तथा ललितपुरका १६२ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तीमा जानकारी दिइएको छ।

आजै तीन हजार ३०७ जना डिस्चार्ज भएको मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख गरिएको छ। त्यस्तै, हाल नेपालमा २१ हजार २३४ जना सक्रिय सङ्क्रमित रहेका छन्।

प्रतिक्रिया दिनुहोस्