सुपारी बगानमा मरिच खेती



झापा । झापाका किसानहरुले सुपारी खेतीसँगै मरिच खेती सुरु गरेका छन् । सुपारीको बोटमा मरिचको खेती हुनेभएकोले किसानहरुले मरिच खेती समेत गरेका हुन् ।

सुपारीसँगै मरिच खेतीको बगानमा अन्य घुसुवा बालीका रुपमा कागती, अदुवा, वेसार उत्पादनबाट तिनगुणासम्म फाईदा हुने गरेको छ । बुद्धशान्ति गाउँपालिका र अर्जुनधारा नगरपालिका क्षेत्रका अधिकांश किसानहरुले सुपारी बगानभित्र सुपारी खेतीसँगै तीनतले खेती गर्दैआएका छन् ।

किसानहरुले उत्पादन गरेका सुपारी र मरिच खरिद गर्न व्यापारीहरु घरमै आउने गरेका छन् । सुपारी खेतीबाट प्रति विगाहा वार्षिक २ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका किसानहरुले मरिच खेतीबाट पनि उस्तै आम्दानी हुने गरेको बुद्धशान्ति गाउँपालिकाका किसान नेत्रप्रसाद संग्रौला बताउनुहुन्छ ।

यस बर्ष सुपारीसँगै मरिचको उत्पादन राम्रो देखिएपनि मुल्यमा भने गिरावट आएको छ । विगतमा प्रति केजी १२ सयसम्म विक्रि हुँदैआएको मरिच यस वर्ष ६०० रुपैयाँमा पनि बिक्रि हुन छोडेको किसानहरुको दुखेसो छ ।

झापाको बुधवारे, अर्जुनधारा, शनिश्चरे क्षेत्रमा सुपारी र मरिच खेती अनुकुलको माटो र हावापानी भएकाले सुपारी र मरिच उत्पादन हुने मुख्य क्षेत्र मानिन्छ । (एनटीभीअनलाइनबाट)

प्रतिक्रिया दिनुहोस्