वीपीको भेन्टिलेटरमा उपचाररत संक्रमितको मृत्यु



फिदिम। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमित पुरुषको बुधबार बिहान मृत्यु भएको छ । सप्तरीको राजविराज–४ का ३९ वर्षीय पुरुषको बुधबार बिहान ३ः१० बजेतिर मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार विराटनगरको गोल्डेन अस्पतालबाट थप उपचारका लागि रेफर गरिएका संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो । ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या देखिएका उनलाई असोज ९ गते कोरोना पुष्टि भएको थियो ।

उनको प्रतिष्ठानको कोभिड अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो । मृतकमा उच्च रक्तचाप, मधुमेह र मृगौला सम्बन्धी पुरानै समस्या रहेको प्रतिष्ठानले जनाएको । डा. सापकोटाका अनुसार १० वर्षदेखि मधुमेहको समस्या रहेका उनले मृगौलाको नियमित डाइलासिस पनि गराउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्