द्रूतमार्गका रुपमा तीन वटा कोरिडोर निर्माण हुँदै



पाँचथर, १४ असोज

द्रूतमार्गका रुपमा विकास गर्ने उद्देश्य सहित पाँचथरमा तीन वटा कोरिडोर सडक निर्माण कार्य सुरु भएको छ ।

जिल्लाको उत्तरी क्षेत्रलाई समेट्न हेंवा कोरिडोर, मध्य क्षेत्रलाई समेट्न निवु कोरिडोर र दक्षिणी क्षेत्रलाई समेट्न नाँवा कोरिडोर सडक निर्माण सुरु भएको हो । तीन वटै कोरिडोर पहाडै–पहाड निर्माण गरिएका अन्य सडकहरुलाई समेट्दै तमोर कोरिडोर सडकमा जोडिनेछन् ।

तमोर कोरिडोर धनकुटाको मुलघाटबाट पाँचथर–ताप्लेजुङ हुँदै नेपाल–भारत–चीन जोड्ने त्रीदेशीय सडक हो । हालसम्म पहाडै–पहाड सडक विस्तार गर्ने गरिएकामा तमोर नदीको किनारा हुँदै तमोर कोरिडोर निर्माण अघि बढेपछि जिल्ला भित्र पर्ने खोलाका किनार हुँदै द्रुतमार्गका रुपमा कोरिडोर सडक निर्माण सुरु गरिएको हो ।

यी तीन वटै कोरिडोरहरु प्रदेश नं. १ सरकारले विशेष प्राथमिकतामा राखेको मुख्यमन्त्री ग्रामीण सडक आयोजनाअन्तर्गत निर्माण थालिएका हुन् । पूर्वाधार विकास कार्यालय पाँचथरका अनुसार गत आर्थिक वर्ष २०६७/०७७ मा तीन वटै कोरिडोरमा समान रु. ८७ लाख बजेट विनियोजन भएको थियो ।

उक्त बजेटबाट कोरिडोरहरुको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण तथा ट्र्याक निर्माण कार्य सुरु भएको पूर्वाधार विकास कार्यालय पाँचथरका निमित्त प्रमुख ललितकुमार चौधरीले जानकारी दिनुभयो । चालु आर्थिक वर्षका लागि तीन वटै कोरिडोरका लागि समान रु. १ करोड १० लाख बजेट छुट्टिएको र कार्यान्वयनको अख्तियारी प्राप्त हुन लागेको निमित्त प्रमुख चौधरीले वताउनुभयो ।

गत आ.व.मा हेंवा कोरिडोरको २.७६ कि.मि., निवु कोरिडोरको २.६ कि.मि. र र नावा कोरिडोरको ३.९ कि.मि. ट्र्याक निर्माण सम्पन्न भएको छ । यस्तै हेंवा कोरिडोरको २१ कि.मी. र नावा तथा निवु कोरिडोरको समान २३ कि.मि.को डीपीआर तयार भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । कोरिडोर सडकहरुको चौडाई आठ मिटर हुनेछ ।

नावा कोरिडोर २३ किलोमिटरको हुने तय भएपनि बाँकी दुई कोरिडोरको डीपीआर चालु आ.व.मा मात्रै पूरा हुने पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख चौधरीको भनाई छ । द्रूतमार्गको रुपमा विकास हुने तीन वटै सडकले जिल्लावासीलाई ठूलो लाभ मिल्ने भएपनि चाँडो निर्माण कार्य पूरा गर्न यथेष्ट बजेटको सुनिश्चिता हुनुपर्ने चौधरीको भनाई छ ।

“तीनवटै कोरिडोर मुख्यमन्त्री ग्रामीण सडक आयोजनामा समावेश भएकाले निर्माण अघि बढ्ने निश्चित छ”, चौधरीले भन्नुभयो, “तर भौगोलिक विकटता र ठूल्ठुला चट्टान पार गर्नुपर्ने भएकाले यथेष्ट बजेटको सुनिश्चिचता भइदिए निरन्तर निर्माण कार्य अघि बढाउन सहज हुन्थ्यो ।”

फिदिम नगरपालिका–४ माझीटार सुरु विन्दु रहेको हेंवा कोरिडोर नेपाल–भारत सीमावर्ती फालोट क्षेत्रसम्म विस्तार गर्ने सरकारी लक्ष्य छ । यस कोरिडोरले फिदिम नगरपालिका सहित हिलिहाङ र फालेलुङ गाउँपालिकामा पर्ने विभिन्न गाउँहरुलाई समेट्छ । निवु कोरिडोर फिदिम नगरपालिका र कुम्मायक गाउँपालिकाको सीमामा पर्ने सिवादोभानमा सुरु विन्दु भई पाँचथर–इलाम सीमावर्ती राँके बजारमा जोडिनेछ ।

यस कोरिडोरले फिदिम र फाल्गुनन्द गाउँपालिकालाई समेट्दै मेची राजमार्ग र तमोर कोरिडोरलाई द्रूत मार्गबाट जोड्ने काम समेत गर्ने यहाँका स्थानीयवासी एवम् संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्वाङको भनाई छ । नावा कोरिडोरले तुम्बेवा र मिक्लाजुङ गाउँपालिकालाई समेट्छ भने तमोर कोरिडोर र राँके–रबी–भेडेटार सडकलाई जोड्ने द्रूतमार्ग समेत बन्छ ।

निवु कोरिडोर निर्माणका लागि पहल गर्दै आउनुभएका संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्वाङ कोरिडोर सडकले निर्माणका क्रममा कमभन्दा कम क्षति गर्ने, द्रूतमार्ग र अन्य सडकहरुको पहुँचमार्गका रुपमा विकास हुने भएकाले यसको निर्माणमा विशेष जोड दिइएको वताउनुहुन्छ ।

“तमोर कोरिडोर निर्माण थालिएपछि नदीको किनारै–किनार सडक निर्माण गर्न सके स्थानीयवासीले धेरै लाभ प्राप्त गर्ने देखियो”, नेम्वाङले भन्नुभयो, “त्यसैले जिल्लाभित्र साना कोरिडोर निर्माण थालिएको हो । कोरिडोर सडकहरुका बहुआयाम छन् ।” द्रूतमार्ग हुनाले कृषि उपजको निकासी, गाउँहरुसम्म विशेषत ढुवानीका ठूला सवारीका साधन भित्राई ब्यापारिक केन्द्र निर्माण, नागरिकलाई सहज पहुँच पुग्ने अपेक्षा गरिएको नेम्वाङको भनाई छ ।

सडकको पहुँच पु¥याउन भन्दै यहाँका गाउँहरुमा निर्माण भएका सडकका ट्र्याकहरु अहिले अलपत्र जस्तै अवस्थामा पुगेका छन् । खोलाहरुमा पुल नहुँदा सडकहरु त्यहीँ टुङ्गिएका समेत भेटिन्छन् । कोरिडोर सडकहरुले अलपत्र परेका सडकहरु ब्युँताउने संविधानसभा सदस्य नेम्वाङको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्