कोशी कोभिड अस्पतालमा रेमडिसिभिर दिएका संक्रमितको मृत्यु



फिदिम। विराटनगरको कोशी कोभिड–१९ उपचार केन्द्रमा एक कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ ।

मोरङको जहदा गाउँपालिका–६ का ६० वर्षीय पुरुषको बुधबार बिहान ४ बजेतिर मृत्यु भएको हो । उपचार केन्द्रका प्रमुख डा. दीपक सिग्देलका अनुसार असोज ४ गते अस्पतालमा भर्ना गरिएका उनको भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि अस्पताल ल्याएको थियो ।

एक सय १० किलो तौल भएका पुरुषलाई श्वासप्रश्वासमा धेरै समस्या थियो । मृतकमा उच्च रक्तचाप, मधुमेह, मोटोपनाको पुरानो समस्या थियो । ती पुरुषलाई बचाउन रेमडिसिभर औषधि पनि चलाइएको डा. सिग्देलले जानकारी दिनुभयो । तर, सफल हुन नसकेको उहाँको भनाई छ । योसगै प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या ६८ पुगेको छ । (हाम्रो मतबाट)

प्रतिक्रिया दिनुहोस्