

फिदिम । वीरगञ्ज रामगढवाकी–२६ वर्षीया कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया गरिएको छ । बिहान ६ बजेर ४० मिनेटमा शल्यक्रिया मार्फत बच्चा निकालिएको हो ।
वीरगञ्ज हेल्थ केयर अस्पतालको प्रसूति विभागको टोलीले बिहान उनको शल्यक्रिया गरेको थियो । शल्यक्रियापछि आमा र छोरा दुवैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
नारायणी अस्पतालमा मंगलबार रातिदेखि पेट दुख्न थालेपछि बिहान शल्यक्रियाको लागि हेल्थ केयर पठाइएको थियो । तीन वर्षअघि पनि उनले शल्यक्रिया मार्फत छोरा जन्माएकी थिइन् ।
कोरोना अस्पतालले भर्ना लिन नमानेपछि अक्सिजन लगाएर घरमै राखिएको थियो । यो समाचार अनलाइनखबरमा प्रकाशित भएपछि सरकारी अधिकारीहरुले चासो दिएका थिए ।
नारायणी अस्पतालको समन्वयमा निजी अस्पतालमा संक्रमित गर्भवतीको सफल शल्यक्रिया गरिएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिए ।
“संक्रमित गर्भवतीलाई घरमै राखिएकोबारे बेलैमा जानकारी आयो । अस्पतालमा व्यवस्थापन गर्ने मौका पायौं” प्रजिअ तामाङले भने, “शल्यक्रिया मार्फत् उनको छोरा जन्मिएको छ । यो खुशीको कुरा हो ।”
संक्रमित महिलाका दाजु दिनेश पण्डित मिडियाले गर्दा बहिनीले राम्रो उपचार पाएको बताउँछन् ।“हामीसँग कुनै विकल्प थिएन, घरमा ल्याएर राखेका थियौं । मिडियाले अवस्था सार्वजनिक गरिदियो, संक्रमण भएकै अवस्थामा बहिनीको शल्यक्रिया गर्ने अवस्था बन्यो”, उनले भने ।
उनमा गत शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । वीरगञ्जमा हाल सञ्चालनमा रहेको नेशनल मेडिकल कलेज अस्थायी कोरोना अस्पताल (बाबा होटल आइसोलेसन)ले शल्यक्रिया र डायलायसिसको विरामी लिन नसक्ने बताएपछि समस्या भएको थियो ।
बाबा होटल आइसोलेसनमा आवश्यक प्रबन्ध नहुँदासम्म संक्रमितको शल्यक्रिया र डायलायसिस गर्न वीरगञ्ज हेल्थ केयरको जिम्मा लगाइएको छ । वीरगञ्ज हेल्थ केयरले संक्रमितका लागि छुट्टै ठाउँको व्यवस्थापन गरेर शल्यक्रिया र डायलायसिसको प्रबन्ध मिलाएको छ ।
जिल्ला संकट व्यवस्थापन केन्द्रले बाबा होटल आइसोलेसनमा आवश्यक व्यवस्था नहुञ्जेल निजी हस्पिटलको संस्था अफिनलाई आवश्यक प्रबन्ध मिलाउने जिम्मेवारी दिएको थियो । (अनलाइनखवरबाट)