

फिदिम । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पाथीभरा क्षेत्रलाई नमूना धार्मिक सांस्कृतिक केन्द्र बनाउने वताउनुभएको छ ।
मंगलबार मन्त्रालयमा पुरातत्व विभागले तयार गरेको पाथीभरा गुरुयोजनाको प्रारम्भिक प्रतिवेदन माथि ताप्लेजुङका सरोकारवालाहरुसँगको छलफलमा सो कुरा वताउनुभएको हो । मन्त्री भट्टराईले पाथीभराको हाल कायम भएको क्षेत्र बैज्ञानिक नभएकोले सर्वपक्षीय भेला गरेर क्षेत्र निर्धारण गर्नुेपर्ने धारणा व्यक्त गर्नुभयो।
मन्त्री भट्टराईले गुरुयोजनामाथि टिप्पणी गगर्दै पाथीभराको विकासका लागि कोर एरिया, बफर एरिया र आउटर एरिया बनाएर विकास गर्नुपर्ने जोड दिँदै माथिल्लो फेदीदेखि पाथीभरासम्म तीन ठाउँमा टि–सप, शौचालय लगायतका संरचनाको सुझाव दिनुभयो ।
मन्त्री भट्टराईले सो क्षेत्रमा बन्ने होटलहरुलगायतका संरचनामा पाथीभरा र ताप्लेजुङलाई सुहाउँदो डिजाइन तयार गरी एकै खालको घरहरु बनाउनु पर्ने र बनेकोलाई पनि सोही डिजाइनमा ढाल्नका प्रेरित गर्नुपर्ने बताउनुभयो ।
उहाँले पाथीभराको वारेमा बढी विवाद गरेर पाथीभरालाई क्षति पुग्नेतिर लाग्न नहुने बताउदै विवाद बढे शक्तिपीठको आकर्षण अन्य क्षेत्रमा सर्न सक्ने धारणा राख्नुभयो । उहाँले स्थलगत रुपम ताप्लेजुङ गएर स्थानीय नगरपालिका, गाउँपालिका राजनीतिकदल, स्थानीय प्रशासनहरुसँग छलफल गरेर टुङ्याउन समेत निर्देशन दिनुभयो ।
त्यस्तै पूर्वमन्त्री मणि लामाले पाथीभरा सवैको गन्तब्य स्थलको रुपमा विकास गनुपर्नेमा जोड दिनुभयो । लामाले पाथीभरा दर्शनको लागि धेरै तीर्थयात्रीहरु सिक्किमबाट आउने हुदाँ पाँचथरको चिवाभञ्जाङबाट बाटो खोल्न आग्रह गर्नुभयो ।
अर्का पूर्वमन्त्री याङकिला शेर्पाले पाथीभरालाई धार्मिक पर्यटनको रुपमा विकास गर्नुपर्ने धारणा राख्र्दै पूर्व क्षेत्रलाई पर्यटन प्रडक्टको रुपमा विकास गर्न विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै अर्का पूर्वमन्त्री ओङ्दी शेर्पाले पाथीभरा जाने यात्रुहरुको सहजताको लागि आवश्यक बाटो निर्माण गर्नुपर्ने बताउनुभयो । गुरुयोजनालाई टुङ्गोमा पुर्याउन स्थानीय स्तरमा छलफल गर्नुपर्नेमा जोड दिनुभयो ।
फुङलिङ नगरपालिका मेयर छत्रपति प्याकुरेलले पाथीभराको विकासको लागि सुकेटारदेखि काफ्ले पाटीसम्मको बाटो चाँडो बनाउनुपर्ने धारणा राख्नुभयो। उहाँले पाथीभराको गुरुयोजनाको बारेमा जिल्लामा छलफल गर्नुपर्ने वताउनुभयो ।
नेपाल कम्युनिष्ट पाटीका ताप्लेजुङ ईन्चार्ज भाष्कर काफ्लेले विकास रोक्नु नहुने बताउँदै समस्या आएमा छलफल स्थानीय स्तरमा छलफल गरेर टुङ्गोमा पुग्नुपर्ने धारणा राख्नुभयो ।
ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले गुरुयोजना अपुरो भएको बताउँदै ताप्लेजुङको विकास भनेको पाथीभराको विकास भएकाले पाथीभराको प्राकृतिक ऐतिहासिकता जोगाउँदै सो क्षेत्रको विकास गर्नुपर्ने धारणा व्यत्तm गर्नुभयो ।
सरोकार केन्द्रका उपाध्यक्ष टंक श्रेष्ठले पाथीभराको गुरुयोजना बन्न जिल्लाकै मन्त्री हुनुपर्ने अवस्था आएको बताउँदै गुरुयोजनामा पाथीभराको सम्पूर्ण एरिया समेटिनुपर्ने, पाथीभरा क्षेत्रमा के गर्ने र के नगर्ने भन्ने सम्पूर्ण कुरा गुरुयोजनाले बोल्नुपर्ने, पाथीभराको पुरातात्विक अध्ययन हुनुपर्ने र पुरातात्विक बाहेक पछि निर्माण भएको संरचनालाई उपयु्क्र ठाउँमा स्थानान्तरण गरिनुपर्ने, पाथीभराको डाँडाको सौन्दर्यतालाई बिगार्ने कुनै पनि संरचना डाँडामा बनाउनु नहुनेलगायतका सुझाव दिनुभयो ।
ताप्लेजुङ समाजका महासचिव अग्नी पौडेलले पाथीभराको मौलिकता जोगाउन अलौकिक शक्ति पिठको रुपमा रहेको पाथीभरा डाँडामा कुनै पनि संरचना निर्माण गर्न नहुने तर्क राख्नुभयो ।
छलफल कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, सह सचिवद्वय कमलप्रसाद भट्टराई र प्रदिप कोईराला पुरातत्व विभागको महानिर्देशक दामोदर गौतम लगायतका उपस्थिति रहेको थियो ।