कोरोना संकटः सक्रिय संक्रमित २० हजार नाघे



फिदिम । देशभर कोरोना भाइरस संक्रमितको संख्या २० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै २५ हजार सक्रिय संक्रमित पुगेमा लकडाउन गर्नुपर्ने सिफारिस गरिसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा १५ सय १३ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या २० हजार नाघेको बताए । उनका अनुसार मंगलबारसम्ममा देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३ सय ९६ रहेको छ ।

सरकारले पछिल्लो २४ घण्टामा १० हजार ८ सय ९१ पिसिआर परीक्षण गर्दा संक्रमित पनि बढेका छन् । मंगलबार ५ सय ५६ महिला र ९ सय ९७ जना पुरुषमा संक्रमण देखिएको छ । उपत्यकामा आज ९ सय ३४ जनामा संक्रमण देखिएको छ। संक्रमितको संख्या ह्‍वात्तै बढिरहँदा डिस्चार्ज हुने क्रम पनि घटेको छ ।

एक महिनाअघि एकै दिन २१ सय जना डिस्चार्ज भएका थिए । तर मंगलबार ७ सय ३१ जना मात्रै कोरोनालाई जितेर घर फर्किएका छन् । साता अघिसम्म डिस्चार्ज हुनेको संख्या दैनिक हजारभन्दा माथि थियो । काठमाडौंमा ४ सय ४७, भक्तपुरमा ७३ र ललितपुरमा १ सय १४ जनामा संक्रमण देखिएको छ ।

यही दरमा सक्रिय संक्रमित बढ्दै गएमा सरकाले तेश्रो चरणको लकडाउन गर्नुपर्ने तर्फ बढेको छ । मंगलबार मात्रै संस्थागत आइसोलेसनमा ९ हजार जना संक्रमित रहेका छन् । त्यस्तै होम आइसोलेसनमा १० हजार ९ सय ९१ जना बसेका छन् ।

संक्रमण फैलिएसँगै गम्भीर बिरामी पनि बढिरहेका छन् । संस्थागत आइसोलेसनमा आज प्रदेश नम्बर १ मा ३ सय ५७, प्रदेश नम्बर २ मा ६ सय ९८, बागमती प्रदेशमा ६ हजार ५ सय ३२ र गण्डकी प्रदेशमा ४ सय ४६ जना रहेका छन्

यस्तै प्रदेश नम्बर ५ मा ८ सय १४, कर्णाली प्रदेशमा ३ सय ५३ र सुदूरपश्‍चिम प्रदेशमा ८ सय ८९ गरी देशभरी ९ हजार ६ सय ८९ जना रहेका छन् । यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ३ सय ७१, प्रदेश नम्बर २ मा ६ सय २२, बागमती प्रदेशमा ६ हजार ४ सय ४७ र गण्डकी प्रदेशमा ४ सय ८९ जना संक्रमित रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा १ हजार ३ सय ९०, कर्णाली प्रदेशमा २ सय ४२ र सुदूरपश्चिम प्रदेशमा १ सय ४६ गरी देशभरी १० हजार ७ सय ७ जना संक्रमण होम आइसोलेसनमा रहेका छन् । प्रवक्ता गौतमका अनुसार देशभरका अस्पतालको आइसियुमा मात्रै २ सय १३ जनाको उपचार भइरहेको छ ।

जस अनुसार प्रदेश १ मा १६ जना, प्रदेश २ मा १८ जना, बागमती प्रदेशमा ११० जना, गण्डकीमा ६ जना, प्रदेश ५ मा ४४ जना, कर्णालीमा १७ जना र सुदूरपश्‍चिममा २ जना संक्रमितको आइसियुमा उपचार भइरहेको छ । उता कोरोनाले अत्यन्त गम्भीर अवस्थामा पुगेकामध्ये ३४ जनाको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको डा। गौतमले जानकारी दिएका छन् ।

आइसियु र भेन्टिलेटरमा पुग्‍ने बिरामीको संख्या बढेसँगै डिस्चार्ज हुने दर पनि घट्दै गएको छ । मंगलबारसम्म मोरङ, सिरहा, ललितपुर, भक्तपुर, काठमाडौं, रुपन्देही र चितवन जिल्लामा ५ सय भन्दा धेरै सक्रिय संक्रमित रहेका छन्। उनीहरुमा ५० प्रतिशतभन्दा धेरै होम आइसोलेसनमै बसिरहेका छन्। लक्षण देखिएकालाई मात्रै सरकारले अस्पतालमा भर्ना गरेको छ ।

स्वास्थ्य मन्त्रालयले यसअघि नै कोरोना फैलिने दर तीव्र भएको जनाउँदै सबै सार्वजनिक सेवा तथा कार्यालय बन्द गर्न मन्त्रिपरिषद्‍मा सिफारिस पठाइसकेको छ । तर अहिले दैनिक जीवन पूरै सहज भए जस्तै देखिएको छ । सरकारले यसअघि चैत ११ गते पहिलो पटक करिब चार महिना लामो लकडाउन गरेको थियो। त्यसक्रममा कोरोना संक्रमणको दर एकदमै कम थियो ।

संक्रमितहरु पनि भारत र तेस्रो देशबाट आएकाहरुमा मात्रै थिए । लकडाउन खुलेसँगै स्थानीय संक्रमण देखिएपछि सरकाले काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो । तीनवटै जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञाको अवधिमा मात्रै कोरोना नियन्त्रणमा आउने भन्दा थप ९ हजार संक्रमित काठमाडौंका तीन जिल्लामा थपिएका थिए ।

निषेधाज्ञाले कोरोना नियन्त्रण हुन नसकेपछि जनदबाबमा परेर सरकारले यसलाई हटाइदिएको थियो । यो हटेसँगै काठमाडौं उपत्यकामा तीव्र गतिमा कोरोना फैलिँदैछ भने जनजीवन सामान्य अवस्था जस्तै देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्