

फिदिम । कोरोनाभाइरस महामारीका कारण विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्या १० लाख नाघेको विज्ञहरूले बताएका छन् । धेरै स्थानमा कोरोनाभाइरस सङ्क्रमण अझ तीव्र गतिमा फैलिरहेको छ ।
अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले अद्यावधिक गरेको तथ्याङ्कमा अमेरिका, ब्रजिल र भारतमा मात्र ज्यान गुमाउनेहरूको सङ्ख्या कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु हुने मानिसको कूल सङ्ख्याको झन्डै आधा छ । विज्ञहरूले मृतकको सङ्ख्या अझै बढी भएको हुनसक्ने बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले स्तब्धता व्यक्त गर्दै उक्त सङ्ख्यालाई पीडादायक कोसेढुङ्गाको सङ्ज्ञा दिएका छन् । “प्रत्येक व्यक्तिको जीवनबाट हामीले दृष्टि हटाउनु हुँदैन” उनले एउटा भिडिओ सन्देशमा भने ।
“उनीहरू आमा र बुवा, पति र पत्नी, दिदीबहिनी र दाजुभाइ, साथी र सहकर्मी थिए। यो रोगको बर्बरताका कारण पीडा बढेको छ ।” कोरोनाभाइरस चीनको वुहानमा पहिलो पटक देखिएको झन्डै १० महिनामा कोरोनाभाइरसका कारण विश्वभरि ज्यान गुमाउने मानिसको सङ्ख्या त्यति पुगेको हो ।
अहिलेसम्म १८८ वटा देशमा कोरोनाभाइरस पुगिसकेको तथा तीन करोड २० लाख मानिसमा सङ्क्रमण पुष्टि भइसकेको छ । रोग नियन्त्रणका लागि अवलम्बन गरिएका लकडाउन तथा अन्य उपायहरूले विभिन्न देशमा आर्थिक मन्दी देखा परेको छ । अहिले कोभिड–१९ विरुद्ध खोप बनाउने प्रयास भइरहेको छ ।
विश्व स्वास्थ्य सङ्गठनने सर्वसुलभ तरिकाले खोप उपलब्ध हुनुअघि २० लाख मानिसको मृत्य हुने चेतावनी दिएको छ । अमेरिकामा अहिलेसम्म दुई लाख ५,००० मानिसको कोभिड–१९ का कारण मृत्यु भएको छ। त्यसपछि ब्रजिलमा १,४१,७०० र भारतमा ९५,५००० सङ्क्रमितले पनि ज्यान गुमाइसकेका छन् ।
अमेरिकामा ७० लाख मानसिमा कोभिड–१९ पुष्टि भएको छ । यो विश्वभरि फेला परेका सङ्क्रमितमध्ये पाँच भागको एक भाग हो । जुलाई महिनामा दोस्रो लहर सुरु भएपछि सङ्क्रमितको सङ्ख्या अगस्टमा घटेको थियो। तर फेरि बढ्न थालेको देखिन्छ ।
भारतमा कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेको छ । त्यहाँ केही सातादेखि प्रत्येक दिन ९०,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन् । त्यहाँ अहिलेसम्म ६० लाख जनामा अर्थात् अमेरिकापछि उच्च सङ्ख्यामा कोभिड–१९ पुष्टी भएको छ । तर भारतमा जनसङ्ख्याको तुलनामा मृत्युदर थोरै छ ।
ल्याटिन अमेरिकामा ब्रजिलमा सर्वाधिक सङ्क्रमित भेटिएका छन् । अहिलेसम्म ४७ लाख जना सङ्क्रमित भेटिएको उक्त देश शीर्षस्थ तेस्रो स्थानमा छ ।