इलाम कोरोना संक्रमितविहीन



इलाम । इलाममा हाललाई कोरोना संक्रमितको संख्या शून्य भएको छ । पहिलो संक्रमित भेटिएको १०९ दिनपछि इलाममा कोरोना पोजेटिभ हुनेको संख्या शून्य भएको हो ।

पहिलो पटक गत जेठ २७ गते सूर्योदय नगरपालिकामा भारतको चेन्नईबाट आएका २६ वर्षीय युवकमा पोजेटिभ देखिएको थियो । हालसम्म इलाममा संक्रमण भेटिएका ९३ जना उपचारपछि घर फर्किसकेका छन् । आइतबार चुलाचुली गाउँपालिकाका एक जना युवकको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि इलाममा सक्रिय संक्रमित शून्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा अहिलेसम्म ४६ सशस्त्र प्रहरी, ३ जनपद प्रहरी, २ सैनिक, १ स्वास्थ्यकर्मी, १ सरसरफाइकर्मी, १ सुरक्षा गार्डसहित वैदेशिक रोजगारीबाट फर्केका व्यक्ति र समुदायमा समेत कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विमल बरालले बताए । कार्यालयका अनुसार २३ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ ।

अहिलेसम्म जिल्लामा ४ हजार ९ सय ७७ जनाको पिसिआर परीक्षण गरिएकामा ४ हजार ८ सय ६१ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । जिल्लामा सबैभन्दा बढी इलाम नगरपालिकामा ५७, सूर्योदय नगरमा १५, सन्दकपुर गाउँपालिकामा ८, माई नगरमा ५, देउमाई नगरमा ४, चुलाचुलीमा ३ र रोङ गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको थियो ।

माइजोगमाई, फाकफोकथुम र माङ्सेबुङ गाउँपालिकामा कसैमा पनि संक्रमण देखिएको छैन । अहिले जिल्लाका ५ स्थानीय तहमा रहेका क्वारेन्टाइनमा ६४ जना छन् । जिल्लामा गत जेठमा २, असारमा १४, साउनमा ६६ र भदौमा ११ जनामा कोरोना पोजिटिभ देखिएको थियो । (थाहा खवरबाट)

प्रतिक्रिया दिनुहोस्