

फिदिम, ११ असोज
पाँचथरको फिदिम स्थित फिदिम माध्यमिक विद्यालयको खेलमैदान क्षेत्रमा निर्माण गरिएको अस्थायी ब्याडमिन्टन हलको आज भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री वसन्तकुमार नेम्वाङले उद्घाटन गर्नुभएको छ ।
जिल्ला समन्वय समिति परिसरमा रहेको सीटी हल पुनर्निर्माणका क्रममा रहेको अवस्थामा ब्याडमिन्टन खेल प्रभावित भएपछि मन्त्री नेम्वाङकै मार्गनिर्देशमा यहाँ जिल्ला ब्याडमिन्टन संघ पाँचथरले अस्थायी हल निर्माण भएको हो ।
प्रदेश सभा सदस्य गणेशकुमार काम्बाङले निर्वाचन क्षेत्र विकास कोषबाट उपलब्ध गराएको रु. ८ लाख, फिदिम नगरपालिकाले उपलब्ध गराएको रु. २ लाख तथा खेलाडीहरुले सङ्कलन गरेको रु. १ लाख ५० हजार तथा केही ऋण समेत गरी रु १५लाखको लागतमा उक्त हल निर्माण पूरा भएको जिल्ला ब्याडमिन्टन संघका सदस्य मंगल बेघाले जानकारी दिनुभयो । पाँचथरमा २०६० सालबाट ब्याडमिन्टन प्रतियोगिता सुरु भएकामा २०७२ सालमा राष्ट्रिय प्रतियोगिता आयोजना गरिएको थियो । यस्तै प्रत्येक वर्ष यहाँ प्रतियोगिता आयोजना भइरहेका छन् ।

पाँचथरमा नयाँ हल निर्माण पूरा भएपछि पुनः राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको बेघाले जानकारी दिनुभयो । पछिल्लो पटक पाँचथरमा ब्याडमिन्टनको नियमित प्रशिक्षण तथा खेल प्रभावित हुने भएपछि हल निर्माण भएको र हल निर्माणका क्रममा तिर्न बाँकी करीब रु. चार लाख तिर्न सहयोग गर्न ब्याडमिन्टन संघले मन्त्री नेम्वाङसँग आग्रह गरेको छ । पछिल्लो पटक स्थानीय तहमा समेत ब्याडमिन्टनमा क्रेज बढ्दै गएको भन्दै संघले उक्त खेलको प्रवद्र्धन मार्फत खेलकुद र पर्यटन विकासमा लगानी गर्न आग्रह गरेको छ ।
सो अवसरमा आफैँ ब्याडमिन्टन खेलाडी समेत रहनुभएका मन्त्री नेम्वाङले जिल्ला ब्याडमिन्टन संघलाई सटर २० सोली, पोइन्ट काउण्टर दुई सेट र नेट दुई सेट हस्तान्तरण गर्नुभयो । ब्याडमिन्टन हल उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेम्वाङले ब्याडमिन्टन हल, फिदिम खेलमैदान सहित खेलकुदका पूर्वाधार निर्माणमा लगानी सुनिश्चित गरिएको वताउनुभयो । उहाँले जिल्लाका लागि आफूले सदैव हरसम्भव प्रयत्न गर्ने उल्लेख गर्नुभयो ।

मन्त्री नेम्वाङले ग्रामीण क्षेत्रमा बढेको ब्याडमिन्टनको क्रेजलाई सम्वद्र्धन गर्न सबै तहबाट लगानी र सहयोग आवश्यक रहेको औँल्याउनुभयो । जिल्लाको समग्र विकासका लागि आफू सधैँ चिन्तित र प्रयत्नशील रहेको वताउँदै उहाँले सबै क्षेत्रका समस्याहरु क्रमशः हल गर्न सरकार एक्सन ओरियन्टेड भएको वताउनुभयो ।
कार्यक्रममा ब्याडमिन्टन संघका केन्द्रीय सदस्य एवम् नेकपाका नेता महेन्द्रविक्रम थाम्सुहाङले पूर्वाधार निर्माणको सुरुआतले धेरै हदसम्म खेलकुद क्षेत्रको विकासले फड्को मार्ने सङ्केत मिलेको वताउनुभयो ।
