फिदिम मा.वि.मा आईसीटी ल्याब सञ्चालनमा



फिदिम, ११ असोज

पाँचथरको फिदिम स्थित फिदिम माध्यमिक विद्यालयमा सूचना सञ्चार प्रविधि प्रयोगशाला (आईसीटी ल्याब) सञ्चालनमा आएको छ ।

ल्याबको आइतवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले उद्घाटन गर्नुभयो । फिदिम माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोदकुमार ठाकुरका अनुसार ल्याबका लागि कम्प्युटर, साइबर सहितका सम्पूर्ण सामग्री प्राप्त भइसकेका छन् ।

दूरसञ्चार प्राधिकरणको सहयोगमा स्थापना गरिएको ल्याबमा २४ वटा कम्प्युटर सहित अन्य विभिन्न विद्युतीय उपकरणहरु रहेका छन् । संघीय सरकारले उपलब्ध गराएको रु. ३५ लाख बजेटबाट उक्त ल्याब स्थापना गरिएको हो ।

यस विद्यालयलाई सरकारले नमूना विद्यालयको रुपमा सरकारले छनौट गरी पूर्वाधार विकासमा जोड दिइरहेको छ । प्रधानाध्यापक ठाकुरले विद्यालयलाई साँच्चै नमूना बनाउन बालमैत्री, अपाङ्गमैत्री तथा प्रविधिमैत्री संरचना बनाउनुपर्ने, अब्बल शिक्षक र उत्कुक विद्यार्थी हुनुपर्ने, विद्यालय आर्थिक रुपमा सम्पन्न हुनुपर्ने र ब्यवस्थापकीय रुपमा सक्षम प्रशासन हुनुपर्ने आवश्यकता पूरा गर्ने क्रममै ल्याब स्थापना भएको वताउनुभयो ।

यस्तै नमूना विद्यालयका लागि ३० जना विद्यार्थी बराबर एउटा कक्षा कोठा र एक शिक्षक दरबन्दी हुनुपर्ने ब्यवस्था छ । यहाँ ४० मध्ये ३२ वटा कक्षा कोठामा पठन–पाठन भइरहेको तर उक्त मापदण्ड पूरा गर्न कक्षा कोठाको संख्या ६० वटा बनाउनुपर्ने आवश्यकता रहेको प्रधानाध्यापक ठाकुरले वताउनुभयो ।

नमूना विद्यालयको रुपमा विकास गर्न संघीय सरकाले वर्षेनि एक करोड ५० लाखका दरले सात करोडसम्म बजेट उपलब्ध गराउने जानकारी पाएको उहाँले वताउनुभयो । यस्तै विद्यालयमा खानेपानी, शौचालय, कक्षा कोठा, चमेना गृह, प्रयोगशाला, फर्निचर लगायत संरचनाको उचित प्रवन्ध हुन बाँकी रहेको र यसको पूर्तिका लागि विद्यालयले कार्ययोजना बनाइरहेको प्रधानाध्यापक ठाकुरले जानकारी दिनुभयो ।

विद्यालयले सबै कक्षाहरु प्रविधिमैत्री बनाउने प्रयास थालेको तथा शिक्षकहरुलाई प्रविधिको प्रयोग गर्न सक्षम बनाइरहेको वताउँदै प्रधानाध्यापक ठाकुरले शिक्षकहरुले शैक्षिक सामग्री आफैँ तयार पार्न थालेको वताउनुभयो । हाल विद्यालयमा पाँच थान स्मार्ट फोन र छ थान स्मार्ट टीभी रहेको र अब सबै शिक्षकहरुका लागि अत्याधुनिक ल्यापटपको प्रवन्ध गर्नुपर्ने आवश्यकता खड्किएको भन्दै उहाँले मन्त्री नेम्वाङसँग माग समेत गर्नुभयो ।

गत वर्ष र यस वर्ष समेत माध्यमिक शिक्षा परीक्षा (एसईई) मा १० जना विद्यार्थीहरुले ‘ए प्लस’ श्रेणी प्राप्त गरेका थिए । यहाँ गत शैक्षिक सत्रमा १९६१ जना विद्यार्थी अध्ययनरत थिए । विद्यालयले आफ्नै स्रोतबाट आन्तरिक खर्च तथा विविध खर्चहरु धानिरहेको वताउँदै प्रधानाध्यापक ठाकुरले थप स्रोतका लागि सहयोग गर्न आग्रह गर्नुभयो ।

फिदिम मा.वि.ले जे–जति लिनु छ, समय यहि होः नगर प्रमुख नेम्वाङ

फिदिम नगरपालिकाका प्रमुख (मेयर) ओनाहाङ नेम्वाङका बाजे एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र उक्त विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रकुमार नेम्वाङका बाजेका बुवा प्रसादसिं नेम्वाङको पहलमा यो विद्यालय स्थापना भएको थियो ।

वि.सं. २००६ सालमा नेम्वाङले उपलब्ध गराएको जग्गा तथा अन्य स्रोतबाट विद्यालय स्थापना हुनुका साथै विद्यालयको नाम नै प्रसादसिं मा.वि. रहेको थियो । तर पञ्चायतकालमा संस्थापक परिवारलाई निषेध गरी नाम परिवर्तन गरिएको नगर प्रमुख नेम्वाङले वताउनुभयो ।

“यद्यपी यसमा हाम्रो कुनै गुनासो छैन् । आज सबैले फिदिम मा.वि. भन्ने वित्तिकै प्रसादसिं नेम्वाङलाई सम्झनुहुन्छ”, नगरप्रमुख नेम्वाङले भन्नुभयो, “यो नै हाम्रो गर्वको विषय हो ।” विद्यालय संस्थापक परिवार नै अहिले सबै जिम्मेवार स्थानमा पुगेको भन्दै नेम्वाङले चाहिएजति कुरा यहि बेला लिनुपर्ने वताउनुभयो ।

‘नेम्वाङहरुले तीन वटा काम गर्ने छैनन्’

प्रजातन्त्रका लागि लडेका, शिक्षाको ज्योती छर्न भूमिका खेलेका, सामाजिक सद्भावलाई जगेर्ना गर्न सधैँ लागिपरेको नेम्वाङ परिवारले तीन वटा काम नगर्ने नगर प्रमुख नेम्वाङको भनाई छ ।

– “पहिलो हामी भ्रष्टाचार गर्दैनौँ । हाम्रा पुर्खाले हामीलाई दिएको ज्ञान भनेकै निश्कलङ्क भई निश्वार्थ जनताका काम गर भन्ने हो । हामीलाई भ्रष्टाचार गरेर खानु छैन् ।”

– “दोश्रो, हामी कहिल्यै शासन गर्दैनौँ, शासन चलाउँदैनौँ । हामीले सेवाका रुपमा पुर्खाका कृयाकलापलाई निरन्तरता दिएर मेयरदेखि पावरफूल मन्त्रीसम्म भएका छौँ ।”

– “तेश्रो, हामी घमण्ड गर्दैनौँ । हामी सबै समुदाय र सबैका सल्लाह र सुझावले चल्छौँ । त्यसैले हामी सफल छौँ । यो विद्यालय स्थापनामा पनि हामी र भट्टराई, बाँस्कोटा, थापामगर, ओझा लगायत परिवारले सहकार्य गर्यौँ ।”

हिँजो चाहेर पनि सहयोग गर्न पाएको थिइँन्ः मन्त्री नेम्वाङ

भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री वसन्तकुमार नेम्वाङले विगतमा आफूले चाहेर पनि उक्त विद्यालयलाई सहयोग गर्न नपाएको वताउनुभयो । “म सांसाद् भएर पनि यस विद्यालयको ब्यवस्थापन समिति अध्यक्ष हुन चाहेको थिएँ, तर पाइँन्”, मन्त्री नेम्वाङले भन्नुभयो, “अब म पनि ठाउँमा पुगेको छु । यहाँहरुले चाहेको कुरा लिनुहोला ।”

मन्त्री नेम्वाङ वि.सं. २०२५ सालमा फिदिम मा.वि.मा भर्ना भई कक्षा १० उत्तिर्ण गर्नुभएको थियो । “यही विद्यालयले मलाई क, ख चिनाएको हो । आज म मुलुकको मन्त्री भएर जनताको सेवा गर्ने ठाउँमा पुग्नुमा यस विद्यालयको पनि देन छ”, नेम्वाङले भन्नुभयो, “यस विद्यालयलाई नमूना बनाई यहाँबाट जिल्लाका अरु विद्यालयले सिक्ने र त्यस्तै बन्ने वातावरण बनाउनुपर्छ ।”

सरकारले आवश्यक पूर्वाधार निर्माण गरी सरकारले प्रत्येक वर्ष एक सय वटा माध्यमिक विद्यालयहरुलाई नमूना विद्यालयको रुपमा विकास गर्दै लैजाने नीति लिएको मन्त्री नेम्वाङले वताउनुभयो । आधुनिक र प्राविधिक शिक्षा विस्तारको कार्य निरन्तर चलिरहेको र यसका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार, जनशक्ति तथा प्रविधि विस्तारमा सरकारले लगानी गरिरहेको उहाँको भनाई छ ।

शिक्षाको गुणस्तर सुधारका लागि सबै पक्षले जिम्मेवार पहल गर्नुपर्ने वताउँद मन्त्री नेम्वाङले कोभिड–१९ द्वारा सिर्जित विषम परिस्थितिमा समेत विद्यार्थीहरुलाई वैकल्पिक माध्यमबाट शिक्षण सिकाईमा जोड्न आवश्यक प्रयत्न गर्न आग्रह गर्नुभयो ।

विद्यालयको ब्यवस्थापन समितिको अध्यक्ष वीरेन्द्रकुमार नेम्वाङले भौतिक पूर्वाधारको ब्यवस्थाका लागि विद्यालयले प्रस्ताव अघि बढाउने भन्दै नमूना विद्यालयको सपना साकार पार्न सहयोग गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्