महामारी नियन्त्रणसँगै नयाँ नेपाल निर्माणको महाअभियान जारी छः मन्त्री नेम्वाङ



पाँचथर, १० असोज

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले कोभिड–१९ को महामारी नियन्त्रणसँगै नयाँ नेपाल निर्माणको महाअभियान जारी रहेको वताउनुभएको छ ।

जिल्ला समन्वय समिति पाँचथरको चौथो जिल्ला सभालाई आज फिदिममा सम्बोधन गर्दै शहरी विकास मन्त्रीको जिम्मेवारी समेत सम्हाल्नुभएका मन्त्री नेम्वाङले जनताको सपना पूरा गर्न महामारीको कठिनाईसँग जुध्दै समृद्ध मुलुक निर्माणका कार्यहरु जारी रहेको वताउनुभएको हो ।

“ठूला पूर्वाधारका आयोजनालाई द्रुत गतिमा अघि बढाउनुका साथै सेवा प्रवाहका क्षेत्रलाई चुस्त पार्दै सुखी नेपाली, समृद्ध नेपालको लक्ष्यतर्फ सरकार केन्द्रीत थियो”, मन्त्री नेम्वाङले भन्नुभयो, “वीचमा आइलागेको महामारीसँग जुध्दै जनताले देखेका सपना पूरा गर्न सरकारका सबै अङ्गले ऐतिहासिक प्रयत्न गरिरहेका छन् ।” कोभिड–१९ सङ्क्रमणका बावजुत सरकारी र निजी क्षेत्रबाट विकास निर्माण र सेवा प्रवाहमा जारी प्रयत्न सामान्य कुरा उहाँको भनाई छ ।

सिङ्गो मुलुकले नै महामारी नियन्त्रण, राष्ट्रियताको सम्वद्र्धन र नयाँ नेपाल निर्माणको सरकारी अभियानलाई साथ दिएको वताउँदै मन्त्री नेम्वाङले जनताले आत्तिनु वा निराश हुनुपर्ने अवस्था नरहेको वताउनुभयो । “हामी समृद्धिको यात्रामा त छौँ नै, हामीले नै महामारीलाई पर्रास्त गर्नुपर्ने पनि भएको छ”, मन्त्री नेम्वाङले भन्नुभयो, “महामारी नियन्त्रण, राष्ट्रिय स्वाधीनताको रक्षा र समृद्ध नेपाल निर्माण गर्ने यात्रामा सरकार हात्तीजस्तै लम्किरहेछ, लम्किरहनेछ ।”

महामारीका वीच पनि गत वर्षमा निर्माण क्षेत्रको प्रगति सन्तोषजनक नै रहेपनि यस वर्ष महामारी र निरन्तरको वर्षाले धेरै विकास आयोजनाहरु प्रभावित हुनसक्ने मन्त्री नेम्वाङको चिन्ता छ । उहाँले तीनै तहका सरकारले समस्याहरु सुल्झाउँदै पूर्वाधार निर्माणका क्षेत्रमा सहजिकरण गर्नुपर्ने वताउनुभयो ।

जनताको विश्वास र स्थिर सरकारको प्राप्ति सामान्य विषय नभएको उल्लेख गर्दै मन्त्री नेम्वाङले तीनै तहका सरकारले विकासका कार्यमा वुद्धिमतापूर्ण प्रयत्न गर्नुपर्ने वताउनुभयो । “भएका समस्या सुल्झिन्छन् तर वाहना बनाएर न सरकारी निकायले छुट पाउँछन् न त निर्माण ब्यवसायीले नै”, मन्त्री नेम्वाङले भन्नुभयो, “हामी जनप्रतिनिधिलाई पनि जनताले हेरिरहेका छन् र अर्को चुनावमा दण्ड वा पुरस्कारको ब्यवस्था गर्छन् ।”

धेरै विकास आयोजना अलपत्र भइरहेको आफूले सुनेको वताउँदै मन्त्री नेम्वाङले अब कुनैपनि निर्माण ब्यवसायी र तालुकदार निकायले छुट नपाउने वताउनुभयो । मन्त्री नेम्वाङले नेपालमा रेल चलाएरै छाड्ने र त्यो समयको आवश्यकता रहेको वताउनुभयो ।

आज सुरु भएको जिल्ला सभा आजै सम्पन्न हुने जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाले जानकारी दिनुभयो । (जिल्ला सभाको उद्घाटन समारोहका प्रमुख अतिथि नेम्वाङ सहित अन्य वक्ताका महत्वपूर्ण भनाईहरु क्रमशः प्रकाशन गर्दै जानेछौँ । –सम्पादक)

प्रतिक्रिया दिनुहोस्