सजगता अपनाउदै अर्थतन्त्रलाई चलायमान बनाउनु पर्छः मन्त्री आङ्बो



पाँचथर, ९ असोज

प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले कोभिड–१९ विरुद्ध सजगता अपनाउदै अर्थतन्त्रलाई चलाउनमान बनाउनुपर्ने वताउनुभएको छ ।

लामो बन्दाबन्दी (लकडाउन)का कारण आर्थिक अवस्था जटिल अवस्थामा पुग्न लागेको उल्लेख गर्दै मन्त्री आङ्बोले अर्थतन्त्रलाई चलायमान बनाउनुको विकल्प नरहेको वताउनुभएको हो । प्रेस संगठन पाँचथरले आज फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री आङ्बोले सजगता र सतर्कता अपनाउदै अर्थतन्त्रका आम पक्षहरु खुल्ला गरिएपछि बजार तरलता सापेक्षित हिसाबले ठिक ठाउँमा आउन लागेको वताउनुभयो ।

“कोभिड–१९ सङ्क्रमण रोक्न जारी गरिएका निषेधाज्ञा र लकडाउनले साउन र भदौ महिनामा राजश्व सङ्कलनले लक्ष्य प्राप्त गर्न सकेन्”, मन्त्री आङ्बोले भन्नुभयो, “राजश्व सङ्कलनमा कमी र मानवीय चहलपहल न्यूनताले समग्र अर्थतन्त्र र विकासको गतिलाई नराम्ररी प्रभावित पार्ने हुँदा सङ्क्रमण रोकथामका अन्य विकल्प अनपाउनुपर्छ ।”

प्रदेश–१ मा अर्थतन्त्रलाई सुचारु गर्दै सङ्क्रमण रोक्न अवलम्बन गरिएका अन्य उपायहरु प्रभावकारी भएको मन्त्री आङ्बोको दाबी छ । यसका लागि परीक्षणमा वृद्धि र सतर्कतामा कडाईलाई निरन्तरता दिइनुपर्नेमा उहाँले जोड दिनुभयो ।

जिल्ला स्थित प्रदेश मातहतका कार्यालयहरुको वार्षीक समीक्षा र आगामी कार्यक्रमबारे छलफल गर्न गृहजिल्ला आउनुभएका मन्त्री आङ्बोले खर्च बढाई विकासलाई गति दिने तथा सेवा प्रवाहलाई चुस्त बनाउन प्रदेश सरकार लागिपरेको वताउनुभयो ।

जिल्ला तथा प्रदेशमा सुरु भएका विकास निर्माणका कार्यले अपेक्षित गति लिएको पाइएको वताउँदै उहाँले सरकारी स्वास्थ्य ब्यवस्थालाई प्रभावकारी बनाउन प्रदेश सरकारले विशेष लगानी गर्ने वताउनुभयो । “गत आर्थिक वर्षमा हामीले कुल बजेटको झण्डै ७१ प्रतिशत खर्च गर्न सफल भयौँ”, मन्त्री आङ्बोले भन्नुभयो, “यो आफैँमा सुखद् सुरुआत हो ।”

फरक प्रसङ्गमा मन्त्री आङ्बोले कोभिड–१९ सङ्क्रमण रोक्न स्थानीय स्तरमा चालिएका कदमहरु प्रभावकारी रहेको वताउनुभयो । नयाँ महामारीसँग नयाँ हिसाबले लड्नुुपर्दा अनुभव अभावमा केही समस्याहरु सिर्जना भएको मन्त्री आङ्बोको स्वीकारोक्ति छ ।

अर्को प्रसङ्गमा मन्त्री आङ्बोले जनताको चाहनाअनुसार नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति गरी निरन्तरता दिनुपर्ने वताउनुभयो । घिसिङको पुनर्नियुक्तिले सरकार र मुलुकलाई नै फाइदा गर्ने भएकाले संघीय सरकारले त्यसवारे आवश्यक निर्णय लिने उहाँको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्