विद्युत प्राधिकरणमा कुलमानलाई निरन्तरता दिइनुपर्छः मन्त्री आङ्बो



पाँचथर, ९ असोज

प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले नेपाल विद्युत प्राधिकरणमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ पुनर्नियुक्ति दिइनुपर्ने वताउनुभएको छ ।

घिसिङले देखाउनुभएको ब्यवसायिक दक्षता तथा श्रेष्ठतालाई ख्याल गर्दै सरकार र मुलुकको हितका लागि घिसिङलाई पुनर्नियुक्ति गरिनुपर्ने आङ्बोको भनाई छ । “उहाँ (कुलमान) को पुनर्नियुक्तिका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र सरकार छलफलमा छन्”, प्रेस संगठनले आज फिदिममा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री आङ्बोले भन्नुभयो, “सामूहिक प्रयासले मुलुकमा लोडसेडिङ हटेकाले उहाँलाई अनावाश्यक देवत्वकरण वा अनावाश्यक रुपमा कमजोर ठान्नु हुन्न ।”

राजनीतिक नियुक्तिहरुमा निकटता हेरिने पुरानै प्रचलन रहेकाले निकटताकै आधारमा घिसिङले पुनर्नियुक्ति पाउनेमा आफू विश्वस्त रहेको आङ्बोको भनाई छ । “अब एक कार्यकाल उहाँलाई प्राधिकरणको नेतृत्व दिन संघीय सरकारले निर्णय गर्छ भन्ने मेरो विश्वास छ”, आङ्बोले भन्नुभयो ।

मन्त्री आङ्बोले घिसिङका पक्षमा सडकमा भएका प्रदर्शनलाई नकारात्मक रुपमा हेर्न नहुने वताउनुभयो । घिसिङले कमाएको लोकप्रियता र श्रेष्ठतालाई अरुले समेत अनुसरण गर्नुपर्ने उहाँको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्