फाल्गुनन्दमा गाउँपालिकाभरि पहिरोले क्षति, नआत्तिन र सजगता अपनाउन अध्यक्ष कुरुम्बाङको आग्रह



पाँचथर, ९ असोज

निरन्तरको वर्षाले पाँचथरको फाल्गुनन्द गाउँपालिकाका कयौँ स्थानमा पहिरो जाँदा घर, गोठ, सावर्जनिक स्थल लगायत क्षेत्रमा क्षति पु¥याएको छ ।

प्रशस्त पानी रहेको यस क्षेत्रमा निरन्तर वर्षा हुँदा यत्रतत्र सानो तथा ठूलो पहिरो गएको हो । पहिरोले घर, गोठ, खेत, बारी सहित मानवीय उपभोगका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको हो । फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङका अनुसार हालसम्म गाउँपालिकाका सात वटै वडामा सानो तथा ठूलो पहिरो गई विभिन्न भौतिक संरचनामा क्षति पुगिसकेको छ ।

“सबै वडामा कहीँ न कहीँ क्षति पुगेको छ”, गाउँपालिका अध्यक्ष कुरुम्बाङले भन्नुभयो, “क्षतिको यकिन नभएपनि सबैतिर समस्या निम्त्याएको सूचना प्राप्त भएको छ ।” यस वर्ष गत फागुनदेखि निरन्तरजसो वर्षा भइरहेको छ । वर्षामा फुटेका मुलहरुले गाउँपालिका क्षेत्रलाई सिंचित गरिसकेको अवस्थामा निरन्तर वर्षा हुँदा यत्रतत्र पहिरो गएको हो ।

गाउँपालिकाले स्थानीय प्रशासनसँगको सहकार्यमा क्षतिको विवरण सङ्कलनको काम थालेको छ । हालसम्म स्थानीयवासी विस्थापित नै हुनेगरी फाल्गुनन्द–२ इम्बुङमा पहिरो गएको छ, जहाँ तीन परिवार विस्थापित भएका छन् ।

गाउँपालिकाले पहिरो प्रभावित भएका गाउँपालिकावासीलाई नआत्तिन र धैर्य गर्न अपील गरेको छ । “हामी प्रदेश र संघबाट स्रोत साधन जुटाएर भएपनि गाउँपालिकावासीलाई अभिभावकत्व प्रदान गर्नेछौँ”, गाउँपालिका अध्यक्ष कुरुम्बाङले भन्नुभयो, “हाम्रो अपील छ, कोही पनि गाउँपालिकावासी नआत्तिनु होला ।”

विस्थापित भएका स्थानीयलाई पुनस्र्थापना गर्न, समस्यामा परेका गाउँपालिकावासीलाई राहत र उद्धारको ब्यवस्था गर्न गाउँपालिका तयार रहेको र यस्तो अवस्था आए स्वयम्सेवकको रुपमा परिचालित हुन अध्यक्ष कुरुम्बाङले स्थानीयवासीलाई आग्रह समेत गर्नुभएको छ ।

गाउँपालिकाले उच्च सतर्कता अपनाउन आम गाउँपालिकावासीलाई आग्रह गरेको छ । अझै वर्षा हुने सम्भावना रहेको, वाढी र पहिरोको जोखिम उत्तिकै रहेकाले सचेत र सतर्क हुन आग्रह गर्दै अध्यक्ष कुरुम्बाङले जोखिममा रहेका स्थानीयवासीलाई यथाशिघ्र सुरक्षित स्थानमा सर्न, जनप्रतिनिधि तथा सुरक्षा निकायमा सम्पर्क गर्न गाउँपालिकावासीलाई अपील गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्