‘कार्यकर्ता संगठनभन्दा उपभोक्ता समितिमा बस्न रुचाउँछन्’



पाँचथर, ९ असोज

प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले दलका कार्यकर्ता पार्टीको संगठनमा भन्दा उपभोक्ता समितिमा बस्न रुचाउने गरेको वताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवम् पाँचथर जिल्लाका इन्चार्ज समेत रहनुभएका मन्त्री आङ्बोले विकास निर्माणका योजनाबाट अनुचित लाभ लिन उपभोक्ता समितिमा बस्न नेकपाकै कार्यकर्ताले मरिहत्ते गर्ने गरेको वताउनुभएको हो ।

प्रेस संगठन पाँचथरले आज फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो वताउनुभएको हो । उहाँले उपभोक्ता समितिले गर्ने वेथिति, भ्रष्टाचार र निर्माणका काममा हुने अनियमितता कारण समाजमा समस्या आउन थालेको मन्त्री आङ्बोको भनाई छ ।

उपभोक्ताको लागत सहभागिता वा श्रम सहभागिता हुने स्थानमा मात्रै विकास निर्माणका आयोजना उपभोक्ता समितिबाट सञ्चालन गर्नुपर्ने प्रदेश सरकारको मान्यता रहेको भएपनि जनस्तरमा उपभोक्ता समितिबाटै काम गराउन दबाव हुने गरेको मन्त्री आङ्बोको भनाई छ ।

उहाँले सकेसम्म मझौला तथा ठूला सबै आयोजना ठेक्का प्रणालीबाट गर्न तीनै तहका सरकारले जोड दिनुपर्ने वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्