

फिदिम । झापाको भद्रपुर–१० घर भएका कोरोना संक्रमित ८६ वर्षीय वृद्ध पुरूषको उपचारका क्रममा बुधबार बिहान विराटनगरमा मृत्यु भएको छ ।
मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट टिचिङ अस्पतालको आइसोलेनमा उपचारका क्रममा बिहान पौने ६ बजे वृद्धको मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीर राठौरले जानकारी दिए । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका वृद्धलाई भदौ ३ गते उपचारका लागि आइसियूमा भर्ना गरिएको थियो ।
त्यही दिन स्वाब संकलन गरेर परीक्षणका लागि पठाउँदा ५ गते सोमबार रिपोर्ट पोजेटिभ आएको अस्पतालको आइसोलेसनका प्रमुख डा. पुरु कोइरालाले बताए । त्यसबेलैदेखि वृद्ध पुरूषको सो अस्पतालमा उपचार भइरहेको थियो।
रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनको आइसियूमा भर्ना गरेर उपचार गर्ने क्रममा ती वृद्धको मृत्यु भएको अस्पतालले जनाएको छ । वृद्धलाई उपचारका लागि भर्ना गर्दा ज्वरो, जटिल खालको नियमोनिया, श्वासप्रश्वास तथा मिर्गौलासम्बन्धी समस्या थियो । अस्पतालले मृतकको शव नियमअनुसार व्यवस्थापन गरिने जनाएको छ ।