सङ्क्रमण रोक्न पाँचथरमा चाडपर्वका लागि ‘वैकल्पिक योजना’ बनाइदै



पाँचथर, ४ असोज

नजिकिँदै गरेका चाड पर्वहरुमा कोभिड–१९ को सङ्क्रमण फैलन नदिन पाँचथरमा बैकल्पिक योजना निर्माण थालिएको छ ।

हालै बसेको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको बैठकले स्थानीय तहहरुबाट सङ्क्रमण रोक्ने बैकल्पिक योजना बनाई लागू गर्ने निर्णय गरेको हो । बैठकले वडा दशैँ, तिहार लगायत पर्वमा जिल्ला भित्रने मानिसको संख्या तथा त्यसबाट हुनसक्ने कोभिड–१९ सङ्क्रमणको जोखिमको रोकथाम तथा नियन्त्रणका लागि आ–आफ्नो स्थानीय तह भित्र आवश्यक तयारीको पहिचान गर्न जिल्लाका आठ वटै स्थानीय तहहरुलाई निर्देशन दिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेका अनुसार स्थानीय तह स्थित कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रले आवश्यक ठानेका तयारीबारे जिल्लामा पुनः छलफल भई कार्यान्वयनको चरणमा जानेछ ।

बैठकले चाडपर्वमा जिल्ला भित्रनेहरुलाई क्वारेन्टिनमा राख्न नमिल्ने हुँदा सकेसम्म यस वर्ष आफू रहेकै स्थानमा चाड पर्व मनाउन जिल्लावासी मार्फत आ–आफ्ना आफन्तलाई सन्देश पु¥याउने निर्णय गरेको छ । यस्तै ‘जीवन बाँचे आगामी वर्ष चाड पर्व मनाउन सकिने’ सन्देश सहित सकभर यथास्थानमा चाड पर्व मनाउने ब्यवस्था गर्न पहल गर्न प्रदेश स्थित कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रलाई पत्र पठाउने समेत बैठकले निर्णय गरेको सहायक प्रजिअ न्यौपानेले जानकारी दिनुभयो ।

बैठकपछि प्रशासनले बन्दाबन्दी खुलेको अवस्थामा सवारी साधनमा यात्रा गर्दा अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड लागू गर्न तथा गराउन समेत जिल्लावासी र यातायात ब्यवसायीहरुलाई अपील गरेको छ । जिल्लामा हालसम्म तीन जना महिला सहित २४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भइसकेको छ । जसमध्ये १३ जना निको भई घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्